इटालीमाथि सानदार जित निकाल्दै अर्जेन्टिनाले जित्यो फाइनलिसीको उपाधि

410

एजेन्सी । कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले इटालीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलिसीको उपाधि जितेको हो ।

इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लिओनेल मेस्सीले गोल नगरे पनि उत्कृष्ट प्रदर्शन गरे । उनले २ असिस्ट दिए । अर्जेन्टिनाको लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले समान एक-एक गोल गरे ।

खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले मेस्सीको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले अग्रता दोब्बर पारे । उनले मार्टिनेजको पासमा गोल गरेका थिए ।

दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाए । उनले मेस्सीको पासमा गोल गरेका थिए । इटालीले अर्जेन्टिनाको पोस्टमा केही प्रहार गरेपनि गोल भने गर्न सकेन ।

युरोपियन र दक्षिण अमेरिकन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको हो । फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउन खेल आयोजना भएको हो ।

यसअघि पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिना र डेनमार्कबीच भएको भिडन्तमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा विजयी भएको थियो । त्यसबेला डिएगो म्याराडोना पनि अर्जेन्टिनी टोलीमा थिए ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै युरो कपको उपाधि जितेको थियो । इटालीले टाइब्रेकरमा ३–२ को जित हासिल गरेको थियो ।

जुलाई २०२१ मा अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै कोपा अमेरिका जितेको थियो । अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दा मेस्सीले पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।

Previous articleगठबन्धन टुट्ने डरले देउवा छिटै संघ र प्रदेशको निर्वाचन गर्न चाहन्छ -सीपी गजुरेल
Next articleपूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा प्रहरी संग झडप

Leave a Reply