काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली हुने र मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखाएको छ । महाशाखाले गरेको अनुमान अनुसार शनिबार, आइतबार र सोमबार देशभरको मौसम बदली हुनेछ । धेरै ठाउँमा हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना छ । हावाहुरी र चट्याङसहितको वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसमविदहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
महाशाखाले गरेको दैनिक मौसमको अनुमान यस्तो छः
चैत २३ गते शनिबार(आज)
आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका विभिन्नस्थानमा पानी परिरहेको छ । मेघ गर्जन तथा चट्टयाङसहित वर्षा गराउने बादल विकसित भएपछि वर्षाभएको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षाको संभावना रहेको महाशाखाका मौसमविद बरुण पौडेलले बताए । साथै उच्च हिमाली भूभागका जिल्लाहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिएको छ । तराइका जिल्लाहरुमा हुरीबतास चल्ने सम्भावना छ ।
राति देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा मेघगर्जनसहितको वर्षा र तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।
चैत २४ गते आइतबार(भोलि)
आइतबार पनि मौसम बदली रहनेछ । बिहान पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरैजसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भूभागका थोरै स्थानमा, पश्चिमी भुभागका १/२ स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाको अनुमान छ । राति पनि मौसममा बदली हुने सम्भावना छ ।
चैत २५ गते सोमबार(पर्सी)
सोमबार साँझबाट मौसममा केही सुधार आएपनि बिहान र दिउँसो सामान्य बदली रहनेछ । सोमबार पनि हिमाली जिल्लामा हिमपात, पहाडी जिल्लामा वर्षा र तराईका जिल्लामा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना छ ।