काठमाडौं। विश्व हिन्दु कलाकार मञ्च नेपाल (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समिति) को आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कला, संस्कृति, पूर्वीय दर्शन तथा ज्ञान–विज्ञानको संरक्षण र प्रवर्द्धन गर्दै समाजमा शान्ति, सद्भाव र विश्वबन्धुत्वको सन्देश फैलाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
“हाम्रो कला संस्कृति, पूर्वीय दर्शन, ज्ञान–विज्ञान, शान्ति र सद्भावका लागि हाम्रो कलाकारिता, हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजित कार्यक्रम मञ्चका अध्यक्ष शिवन पोखरेलको अध्यक्षता तथा नेपाली चलचित्र इतिहासकी प्रथम नायिका एवं विशिष्ट चलचित्रकर्मी भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह, प्रिन्सिपल आचार्य सोनम लामा तथा वरिष्ठ सौन्दर्यविद् एवं समाजसेवी मञ्जिला सुवेदी र सञ्चारकर्मी तथा म्युजिक खबरकी सम्पादक सविता पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो।
कला, चलचित्र र समाजसेवामा योगदान पुर्याउने व्यक्तित्व सम्मानित
कार्यक्रममा नेपाली कला, चलचित्र, संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा वरिष्ठ चलचित्रकर्मी तथा नायक रवीन्द्र खड्का, वरिष्ठ चलचित्रकर्मी तथा नायिका शर्मिला मल्ल, वरिष्ठ कलाकार तथा निर्देशक शेरबहादुर डिसी र वरिष्ठ इन्जिनियर एवं गायक–सर्जक धर्मराज पोखरेललगायत रहेका थिए।
त्यसैगरी सामाजिक व्यक्तित्व, व्यवसायी तथा समाजसेवीहरू नारायण देवकोटा, मदनकुमार केसी, पुष्कर न्यौपाने र विनोद महतो पनि सम्मानित भएका थिए। वरिष्ठ सौन्दर्यविद् तथा सौन्दर्य प्रतियोगिताकी निर्णायक मञ्जु कार्की पाण्डे, युवा गायन सम्मानबाट प्रचण्ड राज राई, युवा सञ्चारकर्मी सम्मानबाट गिरीप्रसाद भुसाल, गीतकार तथा समाजसेवी गायत्री थापा र इन्टरनेशनल प्रोग्राम कोअर्डिनेटर एवं समाजसेवी नितु कोइरालालाई समेत सम्मान गरिएको थियो।
यसै अवसरमा संस्थाका सम्पूर्ण आजीवन सदस्यहरूको योगदानको कदर गर्दै सम्मान व्यक्त गरिएको थियो।
सांगीतिक प्रस्तुति र मन्तव्यले कार्यक्रम थप आकर्षक
कार्यक्रममा कला, संगीत, विज्ञान तथा पूर्वीय दर्शनको महत्त्व उजागर गर्दै सांगीतिक प्रस्तुति र मन्तव्यहरू प्रस्तुत गरिएका थिए। संस्थाका उपाध्यक्ष नरहरी प्रेमीले गीत–संगीत, कला र पूर्वीय दर्शनको महत्त्वबारे मन्तव्य राखेका थिए।
त्यसैगरी संस्थाकी महिला सचिव पवित्रा आचार्य, गायक तथा संगीतकार कृष्णराज भण्डारी, अञ्जु सुनार र रिया खत्रीले सांगीतिक प्रस्तुति दिएका थिए। सचिव गोकर्ण बानियाँ (जी.आर.), कोषाध्यक्ष पुष्कर धानुके (सनराइज), गीत तथा संगीत विभाग प्रमुख केशव अधिकारी र प्रेस संयोजक प्रकाश बराइली ‘अभिव्यक्ति’ लगायतको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
संस्थाकी महिला उपाध्यक्ष पूजन काफ्लेको व्यवस्थापन तथा प्रदीपकुमार रसाइलीको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष गोपाल ढकाल (छन्दे) ले गरेका थिए।
कला र संस्कृतिमार्फत शान्ति तथा सद्भावको सन्देश
कार्यक्रमले पूर्वीय दर्शन, ज्ञान–विज्ञान, हिन्दू सनातन परम्परा तथा नेपाली कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै समाजमा शान्ति, सद्भाव, सहिष्णुता र विश्वबन्धुत्वको भावना विस्तार गर्नुपर्ने सन्देश दिएको आयोजकले जनाएको छ।
विविध सांस्कृतिक तथा दार्शनिक परम्पराप्रति सम्मान व्यक्त गर्दै कलाकारितालाई सामाजिक एकता र सकारात्मक परिवर्तनको माध्यम बनाउनुपर्ने विषयमा समेत कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रमको समापनका क्रममा संस्थाका अध्यक्ष शिवन पोखरेलले प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित व्यक्तित्व, कलाकार, पत्रकार, व्यवसायी, समाजसेवी, आजीवन सदस्य, शुभचिन्तक तथा सम्पूर्ण कार्यसमिति परिवारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका थिए।
अध्यक्ष पोखरेलले कला, संस्कृति, पूर्वीय दर्शन तथा ज्ञान–विज्ञानको प्रवर्द्धनमार्फत शान्ति र सद्भावको सन्देश फैलाउने संस्थाको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।