सभापति देउवाविरुद्ध देशव्यापी हस्ताक्षर अभियानमा सञ्चालन गर्ने चेतावनी

काठमाडौं – कांग्रेस जिल्ला सभापतिले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिले निकालेका हुन्। केन्द्रीय समिति बैठक शनिबार बस्दैछ।

केन्द्रीय समितिले बहुमतका आधारमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट छन्।

पार्टीका असन्तुष्ट ५० भन्दा बढी जिल्ला सभापतिको बिहीबार काठमाडौंमा सम्पन्न बैठकले आगामी केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन गर्नुपर्ने अल्टिमेट दिएको छ।

महासमिति बैठकको म्यान्डेटका आधारमा केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन होस् भन्ने पक्षमा जिल्ला सभापतिहरु रहेका छन् ।पार्टी नेतृत्वले विधान परिमार्जनमा चासो नदेखाए विशेष महाधिवेशनको माग गर्ने समेत चेतावनी दिएका छन् ।

कांग्रेसमा एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ। सभापति देउवा पक्षले भने जिल्ला सभापतिहरूको माग बेमौसमी भन्दै विशेष महाधिवेशन बोलाएर देखाउन जिल्ला सभापतिहरूलाई चुनौती दिएको छ ।

जिल्ला सभापतिहरूले आफ्ना माग सम्बोधन नभए हस्ताक्षर चलाउने निष्कर्ष निकालेपछि कांग्रेसमा आन्तरिक किचलो झन् पेचिलो बन्ने देखिएको छ ।

कांग्रेसमा बहुमत जिल्ला सभापतिहरू वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर छन्। जिल्ला सभापति भेलामा पौडेल र सिटौला पक्षकै आयोजनामा भएको थियो ।

गत फागुन १० गते केन्द्रीय समितिले बहुमतका आधारमा पार्टीको विधान पारित गरेको थियो। उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। त्यसपछि ५६ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकालेर केन्द्रीय समितिको निर्णय सच्याउन माग गरेका थिए ।

सभापति देउवा पक्षले उनीहरुका मागप्रति चासो नदेखाएपछि असन्तुष्ट समूहका जिल्ला सभापतिहरूको बैठक बसेको हो। गत पुसमा सम्पन्न महासमिति बैठकमा ७ सय ५२ महासमिति सदस्यले केन्द्रीय नेता पनि तल्लो तहबाटै निर्वाचित हुनुपर्ने प्रस्ताव गरेका थिए। यस्तै समानुपातिक समावेशी आरक्षण एक व्यक्तिलाई एकपटक मात्र दिनुपर्ने प्रस्ताव उनीहरूको थियो ।

जिल्ला सभापतिहरूले पार्टी नेतृत्वलाई १४ औं महाधिवेशनको नियमित कार्यताालिका सार्वजनिक गर्न माग गरेका छन्। कांग्रेस विधानअनुसार हरेक चारचार वर्षमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ।

नियमित महाधिवेशन भएमा कांग्रेसले अर्को वर्ष १४ औं महाधिवेशन गर्नुपर्ने हुन्छ। तर विशेष कारण देखाउँदै थप एक वर्ष कार्यकाल थप्न पाउने व्यवस्था पनि विधानमा छ। यही विधानमा टेकेर सभापति देउवाले कार्यकाल थप्न सक्ने आशंकामा जिल्ला सभापतिहरूले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिएका छन् ।

उनीहरुले नयाँ विधानअनुसार पार्टीलाई संघीय संरचनामा ढाल्नसमेत नेतृत्वलाई आग्रह गरेका छन्।