राहत बाँड्न आँधीपीडित क्षेत्रमा प्रचण्ड जाँदै

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आँधीहुरी प्रभावित बारा र पर्सा क्षेत्रमा पुग्ने भएका छन् । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनसँगै राहात बाँड्न मंगलबार त्यसतर्फ जान लागेका हुन ।

आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनुहुनेछ । प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ । उहाँले पीडित परिवारसँग भेटघाट गर्नुका साथै राहतसमेत वितरण गर्ने योजना रहेको छ ।

हिजो सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित क्षेत्रको हवाई निरीक्षण गरेका थिए । ओलीले अस्पताल पुगेर घाइतेलाई समेत भेटेका छन् । विभिन्न दलका भातृसंगठन सोमबार नै राहत तथा उद्धारका लागि प्रभावित क्षेत्र पुगिसकेका छन् ।

वाइसियलले संकलन गरेको राहत प्रचण्डको हातबाट वितरण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । आइतबार आएको हावाहुरीले बारामा सबैभन्दा ठूलो जन–धनको क्षति पुगेको छ । पर्सा पनि हुरीले प्रभावित छ ।

गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ । कैयन घाइतेको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ । हावाहुरीले घर भत्काउँदा प्रभावितहरुको जनजीवन कष्टकर बनेको छ ।