धनकुटा असार ७ ,
धनकुटाकाे सहिदभूमि गाउँपालिका र वडावाट हालसम्म सम्पादन भए गरेको विकास निर्माण र सेवा प्रवाह सन्दर्भमा सहिदभूमि गाउँपालिका वडा नं. २ साम्बुगाउँमा शुक्रवार पालिकास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।
सहिदभूमि गाउँपालिकाको आयोजना तथा खाल्सा मिडिया रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले चालु आर्थिक वर्षमा विनियोजित वजेटबाट हासिल गरेको मुख्य मुख्य उपलब्धीहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतको प्रस्तुतीकरण र सेवाप्रवाहको विषयमा सेवाग्राहीको अभिमत संकलन गरि तयार गरिएको नागरिक प्रतिवेदन सार्वजनिक पछि कार्यक्रमका सहभागीहरुले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा वोल्दै स्थानीय धनकुमार राईले गाउँपालिकाको आन्तरिक आय वढाउन ऐतिहासिक पातल डाँडामा लगानी गरि पर्यटकीय हवको रुपमा विकास गर्नुपर्ने बताएका थिए । उनले भनाई प्रति जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीले पातल डाँडालाई पालिकाको गौरवको योजना बनाउनु आवश्यक रहेको बताए । संचरना निर्माणमा प्रदेशले धेरै काम गरेको छ । गाउँपालिकाको स्रोत थोरै भएतापनि लगानी गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा रुपलाल राई, अनिशकुमार राई, प्रताव राई, रुद्रप्रसाद राई लगायतले विचार राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा विषयगत शाखाका प्रमुख तथा कर्मचारी, जनप्रतिनिधि, स्थानीय, राजनीतिक दल, टोल विकास समिति, योजना उपभोक्ता समिति, सामुदायिक संस्था, विद्यालय, आमा समूह, शिक्षक, बुद्धिजीवि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
सहिदभूमि गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण संस्था खाल्सा मिडिया रिसर्च सेन्टर धनकुटाका कार्यक्रम संयोजक हरिबहादुर लम्जेलले सेवाग्राहीले व्यक्त गरेका अभिमतलाई समेटेर तयार गरिएको नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।