डिम्याट खाता खोली सेयर अभौतिकिकरण गर्न अपर तामाकोशी हाइड्रोको आग्रह

काठमाडौं १८ माघ । अपर तामाकोशी हाइड्रोपावरले हितग्राहि खाता (डिम्याट) खोली सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । दोलखाका स्थानिय बासिन्दाहरूको लागि बाँडफाँड गरिएको सेयर भौतिक प्रमाणपत्र वितरण नगरी सेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्ने भएकाले अभौतिकिकरण गर्न आग्रह गरेको हो ।

हालसम्म डिम्याट खाता उपलब्ध गराई सेयर अभौतिकिकरण गर्न बाँकी रहेको हुँदा यथाशिघ्र सेयर अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको हो । डिम्याट खातामा जम्मा गरी अभौतिकिकरण गरे पश्चात् मात्र सेयर खरीद बिक्री गर्न सकिने र भविष्यमा वितरण हुन सक्ने बोनस तथा हकप्रद सेयर हितग्राही खातामा सिधै जम्मा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर रजिष्ट्रार, सनराइज क्यापिटलले आफ्नो कार्यकाल ३० वर्ष पूरा गरेको अवसरमा माघमा हितग्राहि खाता र मेरो सेयर निःशुल्क गरेको हुँदा बाँकी रहेका सेयरधनीहरूले खाता खोली सेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो ।

सनराइज क्यापिटलको कार्यालय कमलपोखरी, सनराइज बैंकका सम्पूर्ण शाखा कार्यालयहरूका साथै अपरतामाकोशीको आयोजना स्थल, गोंगरमा सम्पर्क गरी हितग्राही खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।