दोलखा ,जेठ २९ | वित्तिय सेवामा किसानको पहुँच र प्रयोग बढाउने उद्देश्यले कृषि विकास बैंंकले दोलखामा वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम शुरु गरेको छ ।
IFAD को आर्थिक साझेदारीमा RPSF–APIA परियोजना अन्तर्गत कृषि विकास बैंकले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम शुरु गरेको हो ।
खासगरी किसान एप र किसान क्रेडिट कार्डका माध्यमबाट कृषकको व्यवसायिक पहुँच वृद्धि गर्ने लक्ष्य कार्यक्रमको रहेको बैंकले जनाएको छ ।
वागमती प्रदेशका १३ मध्ये ८ जिल्लामा यस कार्यक्रम संचालन हुनेछ । जसमध्ये दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नं ५ को इन्द्रावती महिला कृषक समुह र वैत्यश्वर गाउँपालिका वडा नं ६ को सिर्जनशील कृषि सहकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार एउटा समुहमा २५ जनाका दरले सहभागी हुनेछन् । आपूर्ति शृंंखलामा संलग्न साना सीमान्तकृत किसानहरु, संकलक तथा प्रशोधनकर्ता, उद्यमीहरु, कम्तीमा ६०% महिला, ३०% युवा एवं दलित जनजाती लगायत पिछडिएका वर्गलाई लक्षित गरिएको सो कार्यक्रममा १५० जना प्रत्यक्ष लाभान्वित हुने बैंकको भनाई छ ।
उक्त कार्यक्रम सँगै सो परियोजनाले दोलखा जिल्लाभर उत्पादक र व्यापारी, व्यापारी र सेवा प्रदायक संस्थाबीच व्यवसाय वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रमका साथै किसानलाई डिजिटल प्रणालीको अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्दै आएको बैंकका सुदिप अधिकारीले जानकारी दिए ।