
पर्यटन प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा १ हिलेमा निर्मित वुद्धको मूर्तिको आज विधिवत रुपमा उद्घाटन गरिएको छ । धनकुटा नगरपालिकाको १३ लाख ५० हजार र धनकुटा नगरपालिका १ नं वडा कार्यलयको ५ लाख गरि जम्मा १८ लाख ५० हजारमा हिले न्यूरोडमा निर्मित वुद्धको मूर्तिको एक कार्यक्रमको वीच विधिवत रुपमा उद्घाटन गरिएको हो ।
नमूना न्यूरोड महिला उपभोक्ता समूहद्धारा हिले वुद्ध चोकमा आयोजित कार्यक्रमको वीच धनकुटा नगर पालिकाका प्रमुख चिन्तन तामाङ, १ नं वडाध्यक्ष निरेन तामाङ, वडा सदस्य लाचन गोङवा लगायतले पानसमा वत्ति वालेर मूर्तिको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले पर्यटकीय संरचनाहरु निर्माण पछि पनि संरक्षण र सजावटमा ध्यान दिन आवश्यक रहेकोले यस्ता संरचनाहरुको संरक्षण ,सजावटमा ध्यान दिन महिला दिदी वहिनीहरुलाई आग्रह गर्नुभयो ।उहाँले आगामी दिनमा पनि नगरले आवश्यक सहयोग गर्ने वताउनुभयो ।
नमूना न्यूरोड महिला उपभोक्ता समूहकी अध्यक्ष दाल्ह्मु शर्पाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य समूहकी सचिव रञ्जु श्रेष्ठले राख्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले धनकुटा नगर कमिटी उपाध्यक्ष सिंह तितुङ,सूरक्षा निकायका प्रमुख तथा प्रतिनीधि, समाजसेवी, स्थानियवासी लगायतको उपस्थिती थियो ।