लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं, २३ मंसिर

लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लक्ष्मी बैंक र समता घरेलु लघुवित्तले २४ मंसिरमा बुकक्लोज गर्दै छन् । यसअनुसार आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीले यी कम्पनीहरुको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंक लिमिटेडले आठ प्रतिशत बोनस र तीन दशमलव ५० प्रतिशत नगद गरी कुल ११ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ८ पुसमा दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

त्यस्तै,  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश र सर्वसाधारणलाई एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्न ७ पुसको बिहान ११ः३० बजे मिराबेल रिर्सोट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । लघुवित्तको सेयर संरचना ७० प्रतिशत संस्थापक तथा ३० प्रतिशत सर्वसाधारण तर्फको हुनेगरी सर्वसाधारणलाई एफपीओ सेयर जारी गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ। त्यस्तै, अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।