रुपन्देही सुपर लिग : जितसँगै तिलोत्तमा डिभिजन ‘ए’मा उक्लियो I

766
criket

भैरहवा, १५ फागुन/ भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको आइतबारको खेल तिलोत्तमा क्रिकेट क्लबले जितेको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी डिभिजन ‘बी’अन्तर्गतको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै विजय हासिल गरेको हो । जितसँगै तिलोत्तमा डिभिजन ‘ए’मा उक्लेको छ ।

टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको थियो । एक सय ३० रनको लक्ष्य पाएको तिलोत्तमाले ३२ ओभरको ५आँै बलमा लक्ष्य पार गरी जित निकालेको हो । जितका लागि अमरसिंह रटौलाले सर्वाधिक अभिजित ३४ रन, कृष्ण भुसालले ३२ र कृष्ण कार्कीले २३ रन बनाए । बलिङ्गमा साई ग्लोबलका अहमद हुसेनले तीन र दुर्गेश कुर्मीले एक विकेट लिए ।

साई ग्लोबलका आकाश त्रिपाठीले टिमका लागि सर्वाधिक ४६ रन, अजमत अलिले २७ र रुपेश बास्तोलाले २६ रन बनाए पनि जित हासिल गर्न सकेनन् । ४० ओभरमै समेटेको तिलोत्तमाका अमर सिंह रटौलाले तीन, श्याम ढकाल र कृष्ण कार्कीले समान दुई र कृष्ण पराजुलीले एक विकेट लिए । तिलोत्तमाका अमरसिंह रटौलाले दुई छक्का र चार चौकाको मद्दतले अभिजित ३४ रन र २२ रन दिँदै तीन विकेट लिए । आइतबारको खेलमा रटौला ‘म्यान अफ द म्याच’बाट पुरस्कृत भए । सोमबारको खेल बुटवल राइनोज र गोलपार्क क्रिकेट क्लबका बीच हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।

२०५४ सालदेखि निरन्तर आयोजना हुँदै आएको नेपालको एकमात्रै सुपर लिग प्रतियोगितामा जिल्ला भित्रका ‘ए’ डिभिजनका आठ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । एक दिवसीय ५०–५० ओवर फर्मेटमा खेलाइने ‘बी’ डिभिजनका टप हुने टीम ‘ए’ डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव गुरुङले बताए ।

‘ए’ डिभिजनका आठ टिम र ‘बी’ डिभिजनबाट बढुवा भएर आएका चार टिमलाई पुनः चार समूहमा विभाजन गरी लिग खेलाइने छ । लिगमा टप हुने चार टिमबीच सुपर फोरमा प्रतिस्पर्धा गर्ने छन् भने पुछारमा रहेको टिम अर्को वर्ष ‘बी’ डिभिजनमा घटुवा हुने सचिव गुरुङले भने ।

यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोविन लिग खेल्ने छन् । जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिमबीच फाइनल प्रतियोगिता हुने संघले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । तीन वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको नेपाल टेलिकमले यस वर्ष पनि निरन्तरता दिएको छ ।

Previous articleबाबुरामले भने- पहिला चुपचाप बस्ने अनि अहिले विरोध गर्ने ? राजनीतिबाट सन्यास लिए हुन्छ I
Next articleकाठेपुलको कहरः जिम्मा लिएर ठेकेदार गायब, गाउँले बटुलेर नदीमाथि काठको फड्के I

Leave a Reply