सिन्धुपाल्चोक,१४ फागुन | कलाकार जयनन्द लामाको स्मृतिमा बाह्रबिसे–३ धार्पाको थिङटोलमा सालिक राखिएको छ । डम्फु बजाएर नाचिरहेको भावमा सालिकको डिजाइन गरिएको छ । १२ फिट अग्लो सालिक जयनन्द लामा स्मृति कोषले ८ लाख बजेटमा निर्माण गरिएको छ ।
कलाकार संघका अध्यक्ष भैरवबहादुर थापा र वाग्मती प्रदेश सदस्य मसिना खड्काले शुक्रबार आयोजित समारोहमा सालिक अनावरण गरे । कार्यक्रममा बाह्रबिसेका नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, कलाकार बसुन्धरा भुसाल, रोज मोक्तान, केशरी थिङ, विश्व दोङ, कृष्ण कँडेललगायतका सहभागी थिए । ‘योजनाअनुसार अब संग्रहालय, कम्पाउन्ड बन्न बाँकी छन् । २५ लाख बराबरको योजना बनाएका छौं,’ कोषका सदस्य रहेका लामाका भाइ प्रेम लामाले भने । सालिक निर्माणमा बाह्रबिसे नगरले ४ लाख, नुवाकोटको ककनी गाउँपालिकाले १ लाख र बाँकी आफन्त, दाजुभाइ मिलेर रकम जुटाएको उनले बताए ।

साहित्यकर्मी रमेश पौडेलले लामा सिन्धुपाल्चोक मात्र नभई मुलुककै लागि प्रेरक व्यक्तित्व भएको बताए । जयनन्द यस क्षेत्र घुमफिरमा आएर धार्पाका आफन्त र स्थानीयलाई भेटिरहन्थे । उनी गत वर्षको फागुन ११ मा भक्तपुरको मध्यपुर–१ लोकन्थलीस्थित घरको गेट अगाडि मृत फेला परेका थिए । लामाले थुप्रै लोकगीत गाउनुका साथै फिल्म र टेलिशृंखलामा अभिनय गरेका छन् । उनका धेरै गीत चर्चित छन् ।
लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ । गत वर्ष फागुन ११ गते उनी भक्तपुरको मध्यपुरथिमि-१ स्थित निवासको गेटअघि उनी मृत भेटिएका थिए । नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए । पहिलो क्यासेट एल्बम निकाल्ने गायक समेत जयनन्द नै थिए । उनले दुई सय बढी गीत गाएका छन् ।