गणतन्त्र दिवसमा कार्की सहित चार पत्रकार पुरस्कृत

हेटौडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा चारजना पत्रकार विधागत पत्रकारिताबाट पुरस्कृत भएका छन् । शुक्रबार गणतन्त्र दिवसका अवसरमा हेटौँडामा आयोजित विशेष कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष तथा दैनिकीन्युजका सम्पादक रामहरि कार्कीलाई संस्थागत पत्रकारिता पुरस्कार, नेपालखबरको बागमती प्रदेश संवाददाता सुनिता विष्टलाई विकास पत्रकारिता पुरस्कार, नयाँ पत्रिकाकर्मी पोष्टराज अधिकारीलाई खोज पत्रकारिता पुरस्कार र रामेछापका युवराज श्रेष्ठलाई सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन्।

पत्रकारितामार्फत गणतन्त्र, सुशासन, विकास निर्माण तथा नागरिकसम्म सूचना प्रवाहमा पुर्‍याएको योगदानको कदर स्वरुप उनीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको प्रदेश सरकारले जनाएको छ।

पत्रकार कार्कीले लामो समयदेखि निष्पक्ष, जिम्मेवार पत्रकारितालाई आत्मसात् गर्दै बागमती प्रदेश सरकारका नीति, योजना, विकास निर्माण, सुशासन, जनचासोका विषय तथा नागरिकका आवाजलाई प्रभावकारी रूपमा सञ्चारमाध्यममार्फत आम नागरिकसम्म पु¥याउने काम गर्दै आएका छन् । प्रदेश सरकारका गतिविधिलाई समाचारका रूपमा सीमित नराखी त्यसको प्रभाव, चुनौती र नागरिक सरोकारसँग जोडेर प्रस्तुत गर्ने उनको शैलीले पत्रकारितालाई अझ विश्वसनीय र प्रभावकारी बनाएको मानिन्छ ।

प्रदेश सरकारको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन तथा जनतासँग सरकारको सम्बन्धलाई थप मजबुत बनाउन सञ्चार क्षेत्रबाट खेलेको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश सरकारले उनलाई गणतन्त्र दिवस २०८३ को अवसरमा “प्रदेश संस्थागत विकास पत्रकारिता पुरस्कार” प्रदान गरेको हो ।

पुरस्कार ग्रहणपछि कार्कीले यो सम्मानले आफूलाई अझ जिम्मेवार, उत्तरदायी र जनताको आवाजप्रति प्रतिबद्ध भएर काम गर्न प्रेरणा दिएको बताए । उनले पत्रकारिता पेशाको मर्यादा, विश्वसनीयता र जनविश्वासलाई केन्द्रमा राख्दै आगामी दिनमा पनि समाज र राज्यका सकारात्मक परिवर्तनका लागि कलम निरन्तर चलाइरहने प्रतिबद्धता व्यक्त गरे।