सन्दीपको आज सर्वोच्चमा सुनुवाई हुदै

काठमाडौं १४ फागुन, । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

क्रिकेट खेल्नका लागि विदेश जान पाउँ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन । लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ ।