धनकुटा ,
भूमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले नागरिकको गरिबी घटाउन सहकारीका माध्यमबाट आर्थिक स्रोत बढाईने बताउनु भएको छ ।
धनकुटा नगरपालिकामा रहेको गोकुण्डेश्वर बालमन्दिर नमुना माध्यमिक बिद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो ।
देशको अर्थतन्त्र निरासाजनक रहेकोले मन्त्री राईले यसलाई सहकारीका माध्यमबाट देशमा उपलब्ध श्रोत र साधनको प्रयोग गरेर नागरिकहरुको आय उपार्जनको बाटो सुधार गर्न सरकार लागि परेको बताउनुभयो ।
‘अब बिस्तारै छोराछोरी बिदेश जाँदा स्याबासी दिनु पर्ने बाध्यताको अन्त्य गर्न सरकार लागि परेको छ ।’मन्त्री राईले भन्नुभयो ।
राजनैतिक ब्यबस्था परिवर्तन भएपनि देशमा सुशासन र आर्थिक बिकास नभएकाले नागरिकको अवस्था उस्तै रहेको उहाँको भनाई थियो ।
मन्त्रीद्वारा उत्घाटन गरिएको नयाँ भवन नेपाल सरकारको नमुना बिद्यालय कार्यक्रम अन्तर्गत एक करोड ७० लाख ६० हजारको लागतमा निर्माण गरिएको बिद्यालयका प्राधानाध्यापक दामोदर मिश्रले जानकारी दिनुभयो ।