काठमाडौँ, १ फागुन | नयाँ बसपार्क क्षेत्रमा आन्दोलनरत यातायात मजदुरका प्रतिनिधिहरूले प्रशासनले बोलाएको वार्तामा बस्न आनाकानी गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मजदुरका मागलाई सम्बोधन गर्न वार्तामा बोलाए मजदुर नेताहरू सम्पर्कमा आएका छैनन् ।
काठमाडौं प्रशासनका एक अधिकारीले यातायात मजदुर, यातायात व्यवसायी महासंघ, यातायात व्यवस्था विभाग र प्रशासनको टोली बसेर विवाद समाधान गर्न बैठक बोलाइए पनि आन्दोलनमा उत्रिएका मजदुरका प्रतिनिधि सम्पर्कमा नआएको बताए ।
आन्दोलनरत पक्षका प्रतिनिधि छलफलमा नआएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महासंघका अध्यक्ष विजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र विभागका महानिर्देशक तुलसीनाथ गौतम जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राति पौने ९ बजेतिर बाहिरिएका थिए । छलफलका लागि एमाले र माओवादीनिकट मजदुर संगठनका प्रतिनिधिलाई बोलाइए पनि उनीहरू नआएपछि विवाद समाधान प्रयास सफल नभएको हो । मंगलबार फेरि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरोकारवाला पक्ष बसेर आन्दोलनरत पक्षका माग सम्बोधनका लागि पहल गरिने भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बिहान साढे आठ बजे यातायात व्यावसायी र मजदुर प्रतिनिधिलाई वार्ताका लागि बोलाएका छन् ।
आन्दोलनरत पक्षले बसपार्क क्षेत्रमा तोडफोड, आगजनी तथा सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । केही सुरक्षाकर्मी घाइते भएका छन् । त्यसका बाबजुद प्रशासन र सुरक्षाकर्मीको संयमताले अप्रिय घटना हुनबाट जोगिएको छ,’ प्रजिअ उपाध्यायले भने । घटनालाई नियन्त्रणबाहिर जान नदिन प्रहरी र सशस्त्र प्रहरीलाई बाक्लो रूपमा परिचालन गरिएको उनले बताए ।