काठमाडौँ। सामाजिक उत्तरदायित्वअन्तर्गत घान्द्रुक समाज यूकेले नेपालमा जारी GenZ आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। समाजका अध्यक्ष हिरा देवी गुरुङको नेतृत्वमा ‘नेपाल स्नेही काख’ मार्फत प्रत्येक घाइतेलाई रु २०,००० रकम वितरण गरिएको हो।
नेपालमा आपत–विपत् पर्दा सदैव अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको घान्द्रुक समाज यूकेले यसअघि पनि बाढी–पहिरो तथा विपद्को समयमा उद्धार र राहतका थुप्रै कार्यक्रम सञ्चालन गर्दै आएको छ। अध्यक्ष गुरुङले विपद्को घडीमा नेपाल र नेपालीका लागि सहयोग गर्नु घान्द्रुक समाज यूकेको मूल पहिचान भएको बताइन् ।
उनले घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भविष्यमै पनि सामुदायिक सहयोग निरन्तर रहने उल्लेख गरिन्। यस सहयोग अभियानमा समाजका संस्थापक सदस्य देव गुरुङ सहित सम्पूर्ण घान्द्रुक समाज यूकेको सक्रिय सहभागिता रहेको थियो।