पत्रकार ईन्जिना कार्की द्वारा प्रहरीले मानसिक र शारिरीक यातना दिएको भन्दै कानूनी लडाई लड्ने घोषणा

काठमाडौं, २८ चैत्र । पत्रकार ईन्जिना कार्कीले ठगि मुद्दामा आफूले सफाई पाएको स्पष्ट पारेकी छिन् । अभियोग पुष्टि हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले आफूलाई गत चैत्र ६ गते सफाई दिएको उनले बताइन् । उनले आफूमाथि लगाइएको मुद्दा गलत सावित भएको बताएकी हुन् । शिवशिखर सहकारी र प्रहरीको मिलेमतोमा आफूलाई नियोजित रुपमा फसाइएको भएपनि अदालतबाट न्याय पाएको उनले बताईन् । आफूलाई अनुसन्धानका क्रममा प्रहरीले मानसिक र शारीरीक रूपमा यातना दिएको उनको आरोप छ ।

अपराध महाशाखका डिएसपी दिलबहादुर मल्लले आफूलाई अहिले पनि निरन्तर रुपमा हैरानी दिएको उनको आरोप छ । ‘दुई वर्ष अगाडि मलाई एउटा मुद्दामा फसाइएको थियो । प्रहरीले सुनियोजित तरिकाले एउटा सहकारीसँग मिलेर सेटिङमा फसाएको थियो । जुन आधार पुष्टि हुन नसकेपछि मैले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएकी छु,’–उनले भनिन् ।

आफूलाई प्रहरीले महिला प्रहरी पनि नराखी बयान लिएर मानसिक र शारीरिक रूपमा यातना दिएको उनले बताईन् । मानवअधिकार आयोग तथा विभिन्न निकायमा आफू प्रहरीको ज्यादती विरुद्ध उजुरी दिएको जानकारी दिईन् । डिएसपी मल्लका विरुद्ध आफू न्यायिक उपचार खोज्ने तयारीमा रहेको उनको भनाई छ । प्रहरीले आफूलाई २९ दिनसम्म प्रहरी हिरासतमा राखेको उनको आरोप छ ।

‘डिएसपी दिलबहादुर मल्लविरुद्ध बाध्य भएर मैले मुद्दा दर्ता गर्दैछु । मैले सफाई पाइसकेपछि दुई/चार वटा मिडियाहरुले न्युज हालेपछि मलाई डिएसपीले त्यो न्युज हटाइदिनुस् भनेर पटक–पटक फोन गर्नुभयो । पटक–पटक मलाई भेट्न खोज्नुभयो,’– उनले भनिन् । साथै डिएसपी दिलबहादुर मल्ल संग भएको टेलिफोन संवाद समेत आफुसंग सुरक्षित रहेको बताइन् |