शैलुङमा ज्याङ्छ्युब छ्योर्तेनको उद्घाटन सम्पन्ना

शैलुङ,१९ फागुन | समुन्द्री सतह बाट करिब ३२०० मिटर अग्लो स्थानमा रहेको दोलखा र रामेछाप जिल्लाको सिमानामा अवस्थित शैलुङमा ज्याङ्छ्युब छ्योर्तेनको उद्घाटन सम्पन्ना भएको छ । लामा धर्मगुरु प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिन्पोछे को प्रमुख अतिथिमा बौद्ध धार्मिक विधि ह्राब्ने (शुद्धीकरण तथा प्राण प्रतिष्ठा)(तामाङ भाषामा म्हाने छ्यानी पनि भन्ने गरिन्छ ) सम्पन्न गरी छ्योर्तेनको उद्घाटन गरिएको हो । शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७२ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि बौद्ध परम्परा अनुसार छ्योर्तेनको शुद्धीकरण तथा प्राण प्रतिष्ठा सम्पन्न भएको हो । बौद्ध धर्ममा शुद्धीकरण तथा प्राण प्रतिष्ठा पछि छ्योर्तेन पूजा गर्न र दर्शन गर्न योग्य मानिन्छ ।

कार्यक्रममा विशेष अतिथि टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको उपस्थिति रहेको थियो । यस्तै विशिष्ठ अतिथिहरूमा नेपाल बौद्ध महासङ्घका धर्म गुरु कमल भण्डारी, धर्म गुरु ङाक्पा पेमा राङडोल, लोपेन सोनाम र सर्वाजित गोङ्बाको उपस्थिति रहेका थिए ।

यसैगरी अतिथिहरूमा रामेछाप जिल्लाका सङ्घीय सांसद पूर्णबहादुर तामाङ, रामेछाप (ख) का प्रदेश सांसद युवराज चौँलागाई, नेपाली काङ्ग्रेस जिल्ला सभापति वर्मा लामा, शैलुङ गाउँपालिका दोलखाका अध्यक्ष रिमालबाबु श्रेष्ठ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेका थिए ।

रामेछापका सङ्घीय सांसद पूर्णबहादुर तामाङले शैलुङ क्षेत्रको विकासमा दुवै जिल्लाको उतिकै पहल जरुरी रहेको बताए । ‘शैलुङ भौगोलिक हिसाबले दोलखा र रामेछापको सङ्गमा रहेको पवित्र भूमि हो,’ सांसद तामाङले भने, ‘यस क्षेत्रको विकासको लागि दुवै जिल्लाको पहल जरुरी छ ।’
त्यसै गरी रामेछाप (ख) का प्रदेश सांसद युवराज चौँलागाईले छ्योर्तेनको निर्माण शैलुङ क्षेत्रको विकासका लागि कोशेढुङ्गा भएको बताए । उनले अबको पाँच वर्षभित्र शैलुङसम्म पुग्ने कालोपत्रे गर्ने, एक वर्षभित्र सञ्चार सुविधा उपलब्ध गराउने र शैलुङको विकासका लागि शैलुङ क्षेत्र विकास समिति गठन गर्ने प्रतिबद्धता जनाए ।

शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले शैलुङ क्षेत्रलाई शैलुङ, मेलुङ र दोरम्बा शैलुङ गाउँपालिकाको साझा पर्यटकस्थल भएकोले तीन वटै पालिकाको साझा आर्थिक स्रोतको केन्द्र बन्न सक्ने भएकाले यस क्षेत्रको विकासमा तीन वटै पालिकाको सहकार्य आवश्यक रहेको बताए ।

दोलखाकै मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले शैलुङ क्षेत्रको विकासमा लागि गुरुयोजना बनाएर अघि बढ्न विलम्ब गर्न नहुने बताए । उनले शैलुङ क्षेत्रको हालसम्मको विकासमा तीन वटै स्थानीय तहले उतिकै भूमिका खेलेको र आगामी दिनमा पनि सहकार्यको जरुरी रहेको बताए । त्यसै गरी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले शैलुङ क्षेत्रलाई विवादको विषय बनाउनु भन्दा पनि यस क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढ्नतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

त्यसै गरी कार्यक्रममा रिगसुम सेवा समाजका कोषाध्यक्ष डम्बर मोक्तानका द्वारा छ्योर्तेन बनाउन लागेको जम्मा रकम र सहयोगी दाताहरु बाट प्राप्त रकम को बिवरण प्रस्तुत गर्नु भएको थियो |

कार्यक्रममा श्रदालु भक्तजनहरुको उत्साहजनक उपस्थिथि रहेको थियो भने औपचारिक कार्यक्रममा विभिन्न दलहरुले आफु अनुकुल भाषण गर्ने भएकाले धार्मिक कार्यक्रममा यस्तो मन्तब्य राख्न नहुने भन्दै आक्रोस समेत देखिएको थियो |