रत्नपार्कमा ‘काग सम्मेलन’

काठमाडौं,६ कार्तिक । आज काग तिहार । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाईँदै छ । यस दिनमा यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिईन्छ ।

काग तिहारको अवसरमा काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा ‘काग सम्मेलन’ गरिएको छ । आईतबार बिहान रत्नपार्कस्थित शान्तिबाटिकामा काग बोलाएर १९ औँ ‘काग सम्मेलन’ गरिएको हो ।

सम्मेलनमा १ सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।