काठमाडौं, साउन १९ /आज दुई देश नेपाल र जापानबीच संयुक्त कार्यसमितिको बैठक बस्दैछ । यसबाट नेपाल र जापानबीच भएको श्रम समझदारी सम्झौता हुनेछ |
नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहित काठमाडौंमा बैठक बस्दैछ | त्यसैगरी जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल पनि बैठकमा सहभागी हुदैछन् ।
नेपाली नागरिकलाई जापानमा रोजगारीका लागि पठाउने विषयमा समयको टुङ्गो लगाउने मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । जसनुसार आजको बैठकमा नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहत् छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने तयारी रहेको छ | दक्षिण कोरियापछि सुरक्षित र आकर्षक आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिएकामा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको श्रम मन्त्रालयले जनाएको छ ।
सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी श्रमिक लैजाँदै आएको थियो ।