उनले अहिले आफूसँग ११५ वटा माहुरी घार रहेको बताउँदै माहुरीलाई अरिङ्गालबाट जोगाउन हेरालो बस्दै आएको बताए । परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लै माहुरी हेरालो बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काले सुनाए ।
पोखराकै अर्का किसान डिलबहादुर खड्काले पनि अरिङ्गालले माहुरी खाएर साह्रै दुःख दिएको बताए । हुलकाहुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेर माहुरी धपाउने गरेको उनले बताए । उनका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि अरिङ्गालले सताउने गरेको थिएन । यस वर्ष अरिङ्गालका कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमा माहुरीको हेरालो बस्ने गरेका छन् । माहुरीको पकेट क्षेत्र र माहुरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमा माहुरी छन् ।
यस्तै सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा रहेको माहुरीलाई पनि अरिङ्गालले सताएको छ । यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत ५० वटा माहुरीका घार छन् । अरिङ्गालका कारण माहुरी मासिन्छ कि भन्ने डर भइसकेको विद्यालयले जनाएको छ । अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिङ्गालको कारण माहुरीपालक किसान समस्यामा परेको जानकारी प्राप्त भएका छन् । रासस