अपडेट : रामेछाप बस दुर्घटना, मृत्यु हुनेको संख्या १२ पुग्यो |

रामेछापमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। खाँडादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस दुर्घटना हुँदा थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

‘९ जनाको घटनास्थलमै मृत्यु भएको थियो। तीन जना उपचारको क्रममा मृत्यु भएको हो,’ उनले भने। उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो।

दुर्घटनामा परी घाइते भएका २४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । चार जनालाई हेलिकप्टरबाट लगिएको थियो।
त्यसमध्ये थप तीन जनाको मृत्यु भएको हो ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। बसका चालक दोलखाका प्रेमबहादुर घतानी हुन्। उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन्।

‘चालकसँग सोधपुछ गर्दा ब्रेक फेल भएर दुर्घटनामा परेको भन्छन्। हामीले हेर्दा पनि ब्रेक लागेको जस्तो देखिन्छ,’ उनले भने। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। मृतकहरूमध्ये आठ जनाको सनाखत भइसकेको प्रहरीले बताए।