
पाेखरा,जेठ १५ | तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए।
उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पोखरा विमानस्थलबाट उडेको ‘नाइन एनएइटी’ जहाज दुर्घटनामा परेको हो।
जहाजमा चालक दलका सदस्य प्रभाकर घिमिरेले बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडाएका थिए। जहाज बिहान १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। ४ जना भारतीय पर्यटकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेका छन्।