काठमाडौँ २१ वैशाख | शंकास्पद वस्तु राखिएको हल्लापछि केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू गर्ने तयारी भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको र केहीबेरमा उडान सुचारू गरिने सेतोपाटीलाई बताए।
बुधबार करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए ।
त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेर सर्च अपरेसन सुरू गरेको थियो।