हिंसापीडित महिला र एकल पुरुषलाई आर्थिक सहयोग

खोटाङ, २५ मंसिर
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हिंसापीडित महिला र एकल पुरुषलाई आर्थिक सहयोग प्रदान गरेको छ । ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसाविरुद्धको १६ दिने अभियान समापनको अवसमा अवसरमा शुक्रबार नगरपालिकाले हिंसापीडित तीन महिला र एकल पुरुषलाई आर्थिक सहयोग गरेको हो । नगरपालिका–१ दिक्तेलका हर्कमायाँ बस्नेत, हरिमायाँ सुन्दास, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी टिकादेवी पुरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एकल पुरुष नरबहादुर गुरुङलाई जनही २० हजारका दरले आर्थिक सहयोग गरिएको हो ।

हिंसापीडित महिला तथा एकल पुरुषलाई नेकपा एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खादा ओढाएर सहयोग रकम हस्तान्तरण गरेका थिए । जीविकाेपार्जनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ असहायक महिला तथा एकल पुरुषलाई आर्थिक सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी हिंसापीडित महिला अम्बीका आचार्यको आवास निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने समाजसेवी तारानाथ फुयाँललाई सम्मान गरिएको छ । बस्ने घर र जग्गा नभएका हिंसा पिडित अम्बीकाको घर निर्माणका लागि जग्गा दिने जग्गादाता फुयाँललाई सम्मान गरिएको हो । फुयाँलले जग्गा उपलव्ध गराएपछि नगरपालिकाले अम्बीकाका लागि घर निर्माण गरेर हस्तान्तरण गरेको थियो । फुयाँल मानव अधिकारकर्मी पनि हुन् ।