बागमती प्रदेशकै लामो पुल सिन्धुलीको हरिहरपुरगढीमा शिलान्यास

लक्ष्मी श्रेष्ठ ,सिन्धुली, १८ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउपालिका वडा नं। २ बख्बर र ४ हाकपारा जोड्ने मरिण खोलामा पक्की पुल शिलान्यास गरिएको छ । शनिवार हरिहरपुरगढी गाउँपालिका वडा नं। ४ हाकपारा स्थित मरिण खोला किनारमा आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पुलको शिलान्यास गर्नुभएको हो ।

२ सय ६२ दशमलब ४० मिटर लामो मरिण खोला पुल बागमती प्रदेश सरकारको कुल १९ करोड २४ लाख ४१ हजार ८ सय १७ रूपैयाँ ६३ पैसा लागतमा निर्माण सुरू भएको हो । पुल निर्माणको ठेक्का हिम्दुङ र थोकर इम्यानुयल सारस जे।भीले पाएको छ । बागमती प्रदेश सरकारले आफ्नै बजेटमा निर्माण गर्न थालेको यो पुल प्रदेशकै नमुना र लामो पुलको रूपमा रहेको बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोेक शाहले जानकारी दिनुभयो ।

२०७८ साल असार २२ गते निर्माणको लागि सम्झौता गरेको निर्माण कम्पनीले २०७९ पुष २२ गते भित्र पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने छ । मरिण खोला पुल बनेपछि विशेषगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, काभ्रे र मकवानपुरका नागरिकले सहजै सर्लाही सहित तराईका जिल्लाहरूमा आवतजावत गर्न सुविधा पाउनेछन् । पुल निर्माण सम्पन्न भएपछि स्थानियले उत्पादन गरेका कृषि तथा अन्य उत्पादित सामाग्री तराईका बजार सम्म पर्याउन र तराईबाट दैनिक उपभोगय सामाग्रीहरू ल्याउन सहज हुने स्थानियको विश्वास छ ।

मरिण खोलामा पुल नहुदाँ हरिहरपुरगढी गाउँपालिकाको वडा नं। २,६,७ र ८ का नागरिक पालिकाको कार्यालय र जिल्लाको सदरमुकाम लगाएत अन्य ठाउँमा ओेहोर दोहोर गर्दा मरिण खोलामा जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् । पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डेले समयमै गुणस्तयुक्त सामाग्रीको प्रयोग गरेर पुलको निर्माण कार्य पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

प्रदेश सरकारले आफ्नो रणनितिक योजनाको रुपमा मरिण खोला पुललाई लिएर बजेट विनियोजन गरेकाले समयमै पुल निर्माण सम्पन्न गर्न स्थानिय नागरिक र जनप्रतिनिधिहरुले पनि चासो राख्दै समय समयमा निगरानी र अनुगमन गर्नुपर्ने बताउनुभाये । उहाँले सिन्धुलीको जुनार खेतीलाई विकास गर्न के गर्नु पर्छ त्यसमा जिल्लाका सरोकारवालसँग छलफल गरेर आवश्यक बजेट र कार्यक्रम ल्याउन प्रदेश सरकार तयार रहेको बताउनु भयो ।