सामाजिक विकास कार्यालयको काम कारबाहीबारे सरोकारवाला निकाय असन्तुष्ट

डडेल्धुराका सरोकारवाला निकायले सामाजिक विकास कार्यालय डडेल्धुराको काम कारबाहीबारे असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक विकास कार्यालयले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट तथा कार्यक्रमबारे गरेको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो असन्तुष्टि व्यक्त भएको हो ।

अभिमुखीकरण कार्यक्रममा सहभागी अधिकांश व्यक्तिले कार्यालयको काम कारबाहीबारे असन्तुष्टि जनाए । अरू वर्ष कार्यालयको काम कारबाहीबारे जानकारी नै नहुने भए तापनि यसपालि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेकामा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले धन्यवाद दिए ।

‘अजयमेरुमा थुप्रै विद्यालयका भवन निर्माणाधीन अवस्थामै छन् । तर, कार्यालय हाम्रो पालिकाका विद्यालयको भौतिक सुधारमा केन्द्रित रहेको जानकारी पाएँ । तर, हामीसँग समन्वय नै गरेनन्’, उनले भने ।

आवश्यकताअनुसार कार्यक्रम नआउने र योजनाहरूको नाम, ठेगाना स्पष्ट नहुँदा स्थानीय तहमा विवाद हुने गरेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए ।  सामाजिक विकास कार्यालयमा भूमिगत शैलीमा योजना तथा कार्यक्रम आउने र बजेट तोकेर वितरण हुने गरेको सहभागीको आरोप थियो ।

सामाजिक विकास कार्यालय डडेल्धुराले आफ्नो पालिकामा कार्यक्रम नै नगरेको भन्दै भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले आक्रोश पोखिन् । उनले भनिन्, ‘विपद्‌मा स्थानीय तहले सबै काम गर्ने । प्रदेश सरकारले सहयोग नै नगर्ने ? विपद्को कारण हाम्रो विद्यालयमा विद्यार्थी विद्यालय जान सक्ने अवस्था नै छैन ।’

कार्यालयका कार्यक्रम योजना भने कुन तवरबाट छनोट हुन्छन भन्नेमा कार्यालय नै अन्योलमा रहेको छ । मन्त्रालयबाट तोकिएर आएका योजना कार्यालयबाट संचालन हुने कार्यालय प्रमुख बताउँछन् । कार्यक्रमबाट आएका सल्लाह, सुझाव अनि प्रतिक्रियालाई आत्मसात् गर्दै अगाडि बढ्ने कार्यालय प्रमुख गोपालदत्त जोशीले बताए ।

२७ विद्यालयमा चार करोड रुपैयाँ खर्च गर्ने

सामाजिक विकास कार्यालय डडेल्धुराले चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमा करिब चार करोड रुपैयाँ खर्च गर्ने भएको छ । कार्यालयले यहाँका स्थानीय तहका विद्यालयमा यो रकम खर्च गर्न लागेको कार्यालय प्रमुख जोशीले बताए ।

उनकाअनुसार विद्यालयमा भवन, घेरबार र सूचना प्रविधिसहित भौतिक संरचनामा तीन करोड ९५ लाख रुपैयाँ खर्च गर्ने भएको हो । जिल्लास्तरीय अभिमुखीकरणमा २७ वटा कार्यक्रममा उक्त रकम खर्च गर्नेबारे बताइएको थियो । १२ वटा विद्यालयमा २०/२० लाख रुपैयाँका दरले दुई कोठे भवन निर्माण गरिने उनको भनाइ छ ।

‘१४ वटा विद्यालयमा १०/१० लाखका दरले सूचना प्रविधिसहित भौतिक संरचना सुधार र एउटा विद्यालयमा १५ लाख रकममा घेरबार गर्ने कार्यक्रम रहेको छ’, उनले भने, ‘अहिलेसम्म कुनै पनि विद्यालयले सूचना प्रविधि निर्माणका लागि प्रस्ताव गरेका छैनन् । सबै विद्यालयले भौतिक संरचना सुधारको माग गरेका छन् ।’

कार्यालयमा महिला, दलित, अपांगता सशक्तीकरण र खेल मैदान निर्माणका कार्यक्रम मन्त्रालयबाट अख्तियारी आउन सक्ने पनि उनले जिकिर गरे। यस्तै, कार्यालयले नगरपालिका र गाउँपालिकामा उत्कृष्ट बालविकास शिक्षकलाई १०/१० हजार रुपैयाँका दरले समेत सिधै शिक्षकको खातामा रकम जम्मा गर्ने भएको छ ।

विद्यालयमा भएको क्षतिबारे जानकारीविहीन

३१ असोजदेखि आएको अविरल वर्षाले जिल्लामा रहेका अधिकांश विद्यालयमा क्षति गरेको छ। तर, यता सामाजिक विकास कार्यालयले भने आफूहरूलाई कुनकुन विद्यालयमा क्षति भएको छ भनेरसमेत जानकारी नआएको बताएको छ ।

कार्यालय प्रमुख जोशीका अनुसार गन्यापधुरा गाउँपालिकामा रहेको गणेश माध्यमिक विद्यालयमा क्षति भएको मात्र जानकारी रहेको छ । ‘क्षतिबारे जानकारी गराउन अनुरोध गर्दछु । क्षतिको विवरण मन्त्रालयमा पठाउँछु’, उनले भने ।