चौबिसे गाउँपालिकालाई फुसको छाना रहित गाउँपालिका बनाउदै |

धनकुटा | धनकुटाको चौबिसे गाउँपालिकालाई फुसको छाना रहित गाउँपालिका निर्माण गर्ने अभियान अन्तरगत रङ्गिन जस्तापाता गाउँपालिकाले वितरण गर्न शुरु गरेको छ ।

नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत स्थानीय सरकारले सो अभियान शुरु गरेको हो । सोही अभियान अन्तरगत चौबिसे गाउँपालिकाले वडा नं. ५ को बोधेमा ७० घरपरिवारलाई रङ्गिन जस्तापाता वितरण गरेको छ । सो वडाका फुसको छाना भएका ७० घरपरिवारलाई गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, वडाध्यक्ष पदम कुमार देवान लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा जस्तापाता वितरण गरिएको चौबिसे गाउँपालिका धनकुटाले जनाएको छ ।

चौबिसे गाउँपालिका अन्तरगत ८ वटा वडाहरु रहेका छन् । वडा नं. ५ बोधेबाट जस्तापाता वितरण गर्न शुरु गरिएको छ । उक्त अभियान गाउँपालिकाको सबै वडाहरुमा सञ्चालन गरिने चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो ।

अहिले वितरण गर्न शुरु गरिएको मध्ये वडा नं. २ मा ३० घर, वडा नं. ३ र ४ मा ५०÷५० घर, वडा नं. ५ मा अघिल्लो वर्षको सहित ७५ घर, वडा नं. ७ मा ४० घर र वडा नं. ८ मा ३० घर रहेका छन् । प्रत्येक घरलाई ५० हजार मुल्य बराबरको जस्तापाता वितरण गरिएको छ । संघीय सरकारको अनुदानबाट उक्त जस्तापाता ६ वटा वडाहरुमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताउनु भयो ।

अन्य बाँकी रहेका वडा नं. १ र ६ भने गाउँपालिकाको लगानीबाट वितरण गरिनेछ । उक्त वडाहरुमा कति संख्यामा वितरण गर्ने भन्ने विषयमा फुसको घर संख्याको विवरण संकलन गर्ने कार्य भईरहेको पनि अध्यक्ष राईले बताउनु भयो ।