कसरी आयो सैनिक पोशाकमै अमेरिकन सेना नेपाल मा ?

मुलुकको सुदूरपश्चिमी शहर धनगढीमा उद्घाटन भएको एउटा भवनको तरंग २५ दिनपछि संघीय राजधानी काठमाडौंमा आइपुगेको छ । १ साउनमा प्रदेश आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाह र कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले नेपाल रेडक्रम सोसाइटीको भवन उद्घाटन गर्दा अमेरिकी सैनिक बर्दीसहित उपस्थिति भएका थिए ।

त्यही विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूले प्रश्न उठाएका छन् । अमेरिकी सहयोगमा निर्मित उक्त भवन हस्तान्तरणका लागि अमेरिकी सैनिक सैन्य पोशाक लगाएर पुगेका थिए । बर्दीसहित सार्वजनिक कार्यक्रममा अमेरिकी सेना किन देखापर्‍यो ? यो खबर शिलापत्र डाड कम मा छ |

मेयर ओडले उक्त भवन अमेरिकी सेनाको कल्याणकारी कोषको सहयोगबाट बनेको दाबी गरे । ‘अमेरिकी सेनाको सहयोग भएकोले उहाँहरू हस्तान्तरणका लागि आउनुभएको हो,’ ओडले शिलापत्रसँग भने, ‘उनीहरूको यो कोष विश्वभर हुने रहेछ । दूतावासको समन्वयमा कार्यक्रम गरिएको हो ।’

ओडले सैनिक कल्याणकारी कोषको रकम भने पनि उक्त परियोजनामा अमेरिकी दातृ संस्था युएसएडको भएको हस्तान्तरण कार्यक्रममा टाँगिएको ब्यानरले पुष्टि गर्छ । ‘नेपाली नागरिकका लागि अमेरिकी नागरिकबाट’ भन्ने नारा ब्यानरमा लेखिएको छ । यो युएसएडको शीर्ष नारा हो ।

बर्दीसहित विदेशी मुलुकको सेना सार्वजनिक कार्यक्रममा जानुलाई कूटनीतिक क्षेत्रमा अशोभनीय मानिन्छ । सैन्य पोशाकसहित विशेशी सेना आपसी सैन्य अभ्यास, तालिममा मात्र उपस्थित हुने चलन छ ।

सैन्य मामिलाका जानकार एवं सांसद दीपकप्रकाश भट्ट बर्दीसहित सार्वजनिक कार्यक्रममा पुगेर अमेरिकाले केही न केही सन्देश दिन खोजेको अड्कल काट्छन् । ‘सिभिलमै गएर पनि हस्तान्तरण हुनसक्थ्यो,’ उनले भने, ‘बर्दीसहित जानु आवश्यक थिएन ।’

अमेरिकी सैनिक बर्दीसहित धनगढी पुगेकोबारे नेपाली सेना भने बेखबर छ । सैनिक प्रवक्त सन्तोषबल्लभ पौडेलले यसबारे जंगी अड्डामा जानकारी नभएको बताए । ‘अन्य सरकारी निकायसँगको समन्वयमा कार्यक्रम गरिएको होला,’ उनले भने, ‘हामीलाई केही पनि थाहा छैन ।’

नेपालस्थित अमेरिकी दूतावासमा कूटनीतिक आवरणमा अमेरिकी सेनाका अधिकारी बस्दै आएका छन् । राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी)का एक अधिकारीका अनुसार अमेरकी राष्ट्रिय दिवसजस्ता दूतावासका कार्यक्रममा सेरेमोनियल सैन्य प्रदर्शनी कूटनीतिक आवरणमा बसेका सैनिकबाटै हुने गरेको छ । त्यस्ता कार्यक्रममा कालो पोशाक लगाउने गरिन्छ ।

पूर्वप्रधानसेनापति गौरव शमशेर राणाका अनुसार नेपालमा शान्ति प्रक्रियाताका अनमिनका नाममा अमेरिकी सेना बर्दीसहित आउने प्रयास गरेका थिए । ‘तर, नेपाली सेना र सरकार दुवैले त्यो प्रस्ताव अस्वीकार गरिदियो,’ उनी भन्छन् ।

यद्यपि यो कार्यक्रममा बर्दीसहति उपस्थित हुनुको ठूलो अर्थ भने नभएको उनको विश्लेषण छ । ‘आर्मीको पहिचानका लागि कार्यक्रममा गएका हुनसक्छन्,’ उनले थपे, ‘कुनै मिसन हो भने उनीहरूले काम गर्ने तौरतरिका बेग्लै हुन्छ ।’

सैन्य बर्दीसहित अमेरिकी उपस्थिति यस्तोबेला भएको छ जतिबेला अमेरिकी परियोजना एमसीसी नेपालले स्वीकार्ने नस्वीकार्ने टुंगो लागेको छैन । राजनीतिक दलहरू नै एमसीसीप्रति विभाजित छन् । एमसीसीको नाममा नेपालमा अमेरिकी सेना आउन लागेको जस्ता अतिशयोक्ति बुझाइ पनि बलियो बन्दै गएको छ ।

चीनले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मार्फत नेपाललगायतका देशमा छिर्ने योजना बनाएपछि त्यसको प्रभाव कम गर्न अमेरिकाले इन्डो प्यासिफिक स्ट्रयाटेजी (आइपीएस) ल्याएको विश्लेषण छ । एमसीसी आइपीएसकै एउटा अंग भएको बताइन्छ ।

एमसीसी परियोजना संसदबाट अनुमोदन भएपछि मात्र लागू हुने भए पनि संसदमा छलफलका लागि दर्ता नै भएको छैन । कूटनीतिमा समय र सन्दर्भलाई अर्थपूर्ण रूपमा लिइन्छ । यदि यो कुरा मान्ने हो भने एमसीसीबारे नेपालमा मतान्तरण भइरहेको बेला अमेरिकी सैनिक गैरसैन्य कार्यक्रममा बर्दीसहित उत्रिँदा एमसीसीलाई झनै शंकास्पद बनाइदिने जोखिम छ ।