आज बिहान बुटवलका दुई जना पुरुष र रुपन्देहीको मायादेवी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा ३१ र ६६ वर्षीय पुरुष र ७२ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका ३१ वर्षीय पुरुष सोहि दिन अस्पतालमा भर्ना भएका थिए। त्यस्तै ६६ वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि सोहि दिन नै वैशाख ९ गते अस्पताल भर्ना भएका थिए भने ७२ वर्षीय महिला वैशाख १० गते संक्रमण पुष्टि भएकोमा ११ गते अस्पताल भर्ना भएकी थिइन्।
योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ सय ८४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। धागो कारखानास्थित आईसियूमा १२ जना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा यसअघि ३६ बेडको आइसोलेसन रहेको भए पनि आइसोलेसनलाई एचडियूमा स्तरउन्नती गर्ने काम भइरहेकोले संक्रमित नराखिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।
रुपन्देहीमा पछिल्लो समय संक्रमित थपिने क्रम तीव्र रुपमा बढिरहेको छ। बुधवारमात्रै ३ सय ८० जना संक्रमित थप भएका थिए। हालसम्म जिल्लामा २ हजार २ सय १२ जना सक्रिय संक्रमित छन्।