भारतको प्रसिद्ध ताज महल ६ महिनापछि पर्यटकहरुका लागि खुला गरिएको छ । ताज महल पहिलोपटक यति लामो समय बन्द भएको हो ।कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण मार्चदेखि ताज महल बन्द रहँदै आएको थियो । यद्यपि ताज महल खुलेपछि पनि अब यहाँ घुम्न जाने मानिसहरुले सावधानी भने अपनाउनुपर्ने हुन्छ । एक दिनमा पाँच हजार पर्यटकले मात्र घुम्न पाउनेछन् । यो विश्वको सबैभन्दा धेरै पर्यटक घुम्न आउनेमध्येको एक महत्वपूर्ण पर्यटकीय स्थल हो । महामारी सुरु हुनुभन्दा पहिला यहाँ दैनिक ७० हजार पर्यटक आउने गर्दथे ।
ताज महल १७ औं शताब्दीमा मुगल सम्राट शाह जहाँले आफ्नी रानी मुमताज महलको सम्झनामा निर्माण गरेका थिए । सन् १९७८ र १९७१ मा ताज महल केही समयका लागि बन्द भएको थियो ।अधिकारीहरुले दिएको जानकारी अनुसार ताज महल घुम्न जाने पर्यटकको सुरुमा तापमान मापन गरिन्छ । साथै, पर्यटकले पैसा तिर्न डिजिटल प्लेटफर्मको प्रयोग गर्नुपर्ने हुन्छ । सार्थै उनीहरुले भौतिक दूरी कायम राख्ने नियम पालना गर्नुपर्छ । उनीहरुले एकल फोटो खिच्न पाउनेछन् तर सामूहिक फोटो खिच्नमा भने रोक लगाइएको छ ।