
पर्सा । पछिल्लो समय ह्वात्तै चर्चामा आएको पर्साको ठोरी स्थित सिता गुफा नजिकैको सीमा पिलर भारतीय सीमा सुरक्षा बल एसएसबीले फ्याकेको छ । हिजो बिहान भरी स्थानीयवासीले सिताको पुजा गरेर स्थानीय फर्किए पछि एसएसबीले दिउसो पिलर उखेलेको दाबी ठोरी गाँउपालिकाका प्रवक्ता राम प्रकाश कुवरले मिर्मिरेलाई बताए । एसएसबीले दिउसो यो पिलर उखेलेर भारत तर्फ नै फ्याकेको प्रत्यक्षदर्शी ठोरीबासीले बताएको कुँवरले बताए ।
यो सीमा पिलर भारतीयले उखेलेको भन्दै ठोरीबासीले नाराबाजी गर्दै बिरोध गरेका छन् । सीता गुफादेखि झण्डै ५ फिटको दूरीमा माथि डाँडामा रहेको ४३६ नम्बरको सीमा स्तम्भ एसएसबीेले नेपालीहरु नभएको मौकामा उखेलेर लडाएको नेपालीहरुले बताए ।
यो बिरोध पछि नेपाल र भारतका दुबै तर्फका सुरक्षाकर्मी सहितको प्रतिनिधि बसेर सीमा स्तम्भ जहाँ जहाँ छ त्यही गाड्ने सहमति अनुसार अस्थायी रुपमा गाडिएको छ भने पछि सीमा विदहरु बसेर नक्सान्कन गरीसके पछि स्थायी रुपमा बलियो पिलर राख्ने सहमति भएको छ । तर पर्सा जिल्ला प्रशासन प्रमुख विष्णु कुमार कार्कीले सिमा पिलरको जग कमजोर भएको र ढलेको हुन सक्ने फोनबाट आफूले जानकारी पाएको बताए । एक फिट मात्रै गाडिएकोले ढलेको हुन सक्ने आफूले रिपोर्ट पाएको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालकै ठोरीको अयोध्यामा रहेको अभिव्यक्ति दिएपछि ठोरी चर्चित बनेको थियो ।पिलर उखेलेर फ्याकिए पछि अहिले सो क्षेत्रमा शसस्त्र प्रहरी पनि तैनाथ गरिएको छ ।