काठमाडौं । नेपाली कला, संगीत तथा चलचित्र क्षेत्रका लागि नयाँ प्रयासस्वरूप माल्दिभ्समा पहिलोपटक नेपाली म्युजिक भिडियो ‘कथा परदेशको’ को छायांकन सम्पन्न भएको छ। वैदेशिक रोजगारीका क्रममा परदेशमा रहेका नेपालीहरूको जीवन, संघर्ष, स्वदेशप्रतिको माया तथा परिवारसँगको भावनात्मक सम्बन्धलाई मुख्य कथावस्तु बनाइएको भिडियो शुभ चिरायु फिल्म्स प्रा.लि. को प्रस्तुतिमा निर्माण गरिएको हो।
माल्दिभ्सका विभिन्न रमणीय तथा आकर्षक स्थानमा छायांकन गरिएको ‘कथा परदेशको’ ले परदेशमा रहेका नेपालीले भोगिरहेका संघर्ष र परिवारप्रतिको माया तथा जिम्मेवारीलाई कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ। “म फर्की आउनेछु आमा, आशा राख…” भन्ने भाव बोकेको गीतले परदेशी नेपालीको मनोभावलाई पर्दामा उतार्ने प्रयास गरेको छ।
भिडियोमा बिद्या कार्की, मिलन ढकाल, यम सापकोटा, निराजन पौडेल, अञ्जु (अङ्गिता) बस्नेत, अरिशा तामाङ र श्रीजना भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोको निर्देशन अर्जुन भुसाल ले गरेका छन् भने कविता ढकाल र दीपक थापा निर्माता रहेका छन्।
‘कथा परदेशको’ मा रवि ओड को स्वर रहेको छ। गीतका शब्द तथा संगीत अभि सुनार ले तयार गरेका हुन् भने आदित्य कार्की ले छायांकन गरेका छन्। भिडियोको प्रोडक्सन म्यानेजरका रूपमा अञ्जु र निराजन पौडेल रहेका छन्।
माल्दिभ्समा भिडियोको छायांकन तथा निर्माणका क्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति निर्माण टोलीले आभार व्यक्त गरेको छ। विशेषगरी श्रीकृष्ण फुँयाल तथा द एभरेस्ट नेपाली रेस्टुरेन्ट, माल्दिभ्स लाई निर्माण टोलीले विशेष धन्यवाद दिएको छ।
निर्माण पक्षका अनुसार ‘कथा परदेशको’ ले मनोरञ्जनसँगै परदेशमा रहेका नेपालीको वास्तविक जीवन, भावना र पारिवारिक सम्बन्धलाई दर्शकमाझ प्रस्तुत गर्नेछ। माल्दिभ्सको प्राकृतिक तथा आकर्षक दृश्यलाई समेत भिडियोमा समेटिएको जनाइएको छ।
शुभ चिरायु फिल्म्स प्रा.लि. को प्रस्तुतिमा निर्माण भएको ‘कथा परदेशको’ म्युजिक भिडियो मिलन मिडिया (Milan Media) युट्युब च्यानल मार्फत छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।