ललितपुर । साहित्यकार विष्णुभक्त राई ‘विभरा किराती’ को नयाँ कविता सङ्ग्रह आदिम फूल सार्वजनिक गरिएको छ । खोटाङको कुइपा मा जन्मिएर हाल चाँगाथली मा बसोवास गर्दै आउनुभएका विभरा किरातीको यो चौथो कृति हो ।
नेपालका आदिवासी जनजाति समुदायको अवस्था, किराती सभ्यता तथा संस्कृतिलाई केन्द्रमा राखेर प्रकाशित गरिएको उक्त सङ्ग्रहमा ३८ वटा कविता समेटिएका छन् । वर्गीय, जातीय, सांस्कृतिक तथा राजनीतिक विषयवस्तु समेटिएको कविता सङ्ग्रह शनिबार ललितपुरमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
कार्यक्रममा प्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम ले कृतिको विमोचन गर्दै विभरा किरातीका कवितामा चित्रात्मकता र सङ्केतात्मकता सशक्त रूपमा अभिव्यक्त भएको बताउनुभयो । उहाँले ‘आदिम फूल’ ले लेखकलाई नयाँ साहित्यिक उचाइमा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि सिर्जनात्मक यात्रालाई निरन्तरता दिन शुभकामना व्यक्त गर्नुभयो ।
कविता सङ्ग्रहको भूमिका समालोचक डा. हेम भण्डारी ले लेख्नुभएको छ । उहाँका अनुसार सङ्ग्रहमा आदिवासी पहिचान, सामाजिक पर्यावरण, शासकवर्गीय प्रभुत्व, राजनीतिक विसङ्गति तथा सांस्कृतिक प्रतिरोधका विषय प्रभावकारी रूपमा उठाइएको छ ।
ललितपुरस्थित पवन प्रकृति स्कूल मा आयोजित कार्यक्रममा समालोचक डा. सुरेश हाँचेकाली ले ‘आदिम फूल’ ले सांस्कृतिक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो ।
अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तथा कानूनमा स्नातक उत्तीर्ण विभरा किराती हाल पवन प्रकृति स्कूलमा सहायक प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । विद्यालयको नेपाली विषय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, साहित्यकार तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
विभरा किरातीले यसअघि सुनको फूल, ताराहरुको बस्तीमा तथा त्रिवेणी गीति एलबम प्रकाशित गरिसक्नुभएको छ । उहाँका गीतहरू रेडियो नेपाल ले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत लेखन प्रतियोगितामा समेत पुरस्कृत भएका थिए ।
About The Author