न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा प्रचण्ड विरुद्धको रिट

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध परेको रिटमा आज सुनुवाई हुने भएको छ । सुनाईका लागि हिजो पेशी तोकिएको भएपनि उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो ।

प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा ट्ुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनले आफूमाथि १७ हजार हत्या गरेको आरोप लाग्ने गरेको भन्दै सबै आरोप आफूमाथि लगाए अन्याय हुने बताएका थिए । तर आफूले पाँच हजारको जिम्मा लिन तयार रहेको र बाँकी १२ हजारको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने उनको भनाई थियो ।

सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी लगायत २८ जनाले प्रचण्डलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट निवेदन दिएका थिए । उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ । सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गरेको थियो । आजको सुनुवाई पनि न्यायाधीश खतिवडाको एकल इजलासमा परेको छ ।