काठमाडौं, १८ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले गठबन्धन टुट्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको चुनाव गरिसक्ने पक्षमा देखिएको बताएका छन् ।
उहाले भन्नु भयो -‘शेरबहादुर देउवा चाहिँ अर्को चुनाव चाँडै गर्ने पक्षमा छन्, कात्तिक मसान्तसम्म चुनाव गरिसक्ने । किनभने गठबन्धन अहिलेसम्म कायम छ । फेरि प्रचण्ड ओलीतिर जान्छु भन्न थालेकाले न ओलीतिर जाने हो कि ? गइहाले भने चुनाव जितिदैन’ भन्ने डर देउवामा देखिएको छ ।
अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको जिकिरसमेत गरे । सरकारले चुनाव जिताउनका लागि १५ प्रतिशत तलव वृद्धि गरेर कर्मचारीहरुलाई ‘घुस’ दिएको उनको जिकिर थियो ।
पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रर्दशनमा बोल्दै उनले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दावी समेत गरे ।