मंसिर २२ गते, ललितपुर । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिनसके देशको अर्थतन्त्र माथि उठ्ने ठोकुवा गरे । सोमबार ललितपुरमा राष्ट्रिय किसान सञ्जालद्वारा आयोजित कार्यक्रममा किसानहरुको लामो संघर्षबाट समाजवाद उन्मूख संविधान लेख्न सफल भएको समेत दावि गरे ।
राष्ट्रिय किसान सञ्जालका संस्थापक अध्यक्षसमेत रहेका गौतमले कृषकहरुको हक, हित र अधिकार प्राप्त गर्न संविधानमा लिपिवद्ध गरिए पनि त्यसलाई व्यवहारमा लागु गर्न नसक्दा थप संघर्ष गर्नु पर्ने जोडदिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गौतमले आयोजक किसान सञ्जालले गाउँ–गाउँमा गएर कृषिलाई समयानुकुल प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरेकोमा धन्यवाद दिदै त्यसलाई निरन्तरता दिने विश्वास गरे ।
गौतमले नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा प्रष्ट बहुमत ल्याए किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँने प्रतिवद्धता व्यक्त गर्दै भने, “हाम्रो पार्टीले कृषि प्रधान देशको नामलाई वास्तविकतामा परिणत गर्ने छ ।”
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले राष्ट्रिय किसान सञ्जाललाई एक ढिक्का बनाउँदै किसानका मुद्दाहरु सशक्तरुपमा उठाउदै अघि बढ्ने धारणा व्यक्त गरे ।
अखिल नेपाल किसान महासंघका इन्चार्ज बलराम बास्कोटाले सैद्धान्तिकरुपमा पुँजीवादी देशहरुसँग विचार नमिले पनि किसान साझा कार्यक्रमहरुमा सबैसँग सहकार्य गर्दै आएको र त्यसलाई निरन्तरता दिन पति बताए ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष बलदेव चौधरीले देशको प्राकृतिक स्रोत र साधनलाई उचित व्यवस्थापन गर्न सके ३ करोड नेपाली जनतालाई सजिलैसित खाद्यान्न खुवाउन सकिने बताए ।अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रेग्मीले नेपालको कृषि उत्पादनलाई बजारीकरण गर्नसके किसान आत्मनिर्भर मात्रै नभई देशको आर्थतन्त्रमा टेवा पुग्ने जनाए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का उपाध्यक्ष मिना तामाङले व्यवसायी कृषिमा महिलाहरुको महत्वपूर्ण सहभागिता रहेको धारणा व्यक्त गरिन् । अन्तर्राष्ट्रिय कृषि विकास कोषका नेपाल प्रतिनिधी कमल गैरेले नेपाली किसानहरुले संविधान प्रद्धत्त अधिकारलाई कार्यान्वयन गर्न सशक्त रुपमा अगाडि बढ्नुपर्ने धारणा राखे ।
पर्माकल्चर समूहका अध्यक्ष प्रेम थापाले किसानका कार्यक्रमहरु सोचेजसरी अगाडि बढाउन नसक्दा किसानहरु पछाडि परेको बताए । केन्द्रीय चिया सहकारी संघका केन्द्रीय सदस्य सोम आचार्यले सञ्जालले गरेका कार्यक्रम अन्तर्राष्ट्रियरुपमा पनि परिचित हुँदै गएको बताए ।