काठमाडौं ८ साउन । काष्ठ व्यवसायी संघ काठमाडौं र सीतापाइला व्यापार व्यवसायी संघको संयुक्त आयोजनामा विचार गोष्ठी तथा अन्तक्रियाका साथै रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंको सीतापाइलामा आयोजित कार्यक्रममा सहभागीहरूले रक्तदान गर्नुको महत्वका साथै काष्ठ व्यापार तथा व्यवसायीहरूका समस्याका बारेमा धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री बहादुर सिंह लामाले स्वदेशी सामान प्रयोगमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

नेपालमा पर्याप्त मात्रामा वन जंगल भएपनी वन संरक्षण सम्बन्धी कतिपय ऐन तथा नियमावली आवश्यकता अनुसार संशोधन हुन नसक्दा स्वदेशी काठ कुहिएर खेर
गईरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
वनसम्बन्धी ऐन वाधक बन्दा स्वदेशी काठ महङ्गो हुने तर विदेशी काठ भने निकै सस्तो भईदिनाले आयात वढ्न गएको र यसले गर्दा समस्या पैदा गरेको मन्त्री लामाले बताए ।
यस्ता समस्या समाधानका लागि सबैले आआफ्नो ठाउँबाट ईमान्दार भएर भुमिका खेल्नुपर्ने भन्दै व्यवसायीहरूको हक हित र अधिकारका लागि प्रदेश सरकार सकारात्मक रहेको उनले बताएका छन्।
देशभित्र नै केही गर्न चाहनेहरूलाई हेर्ने समाजको गलत मानसिकताले पनि हामीलाई आत्मनिर्भर बन्न समस्या पैदा गरेको मन्त्री लामाको भनाई छ।
त्यसैगरी नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ उपत्यका विशेष कमिटीका अध्यक्ष राजकुमार मल्लले वन ऐन तथा नियमावली २०८९ मा क्वाटरगत फर्मुलालाई हटाई हुभर फर्मुला कार्यान्वयनमा ल्याईएको भन्दै आपत्ति प्रकट गरे।
सम्बन्धित निकायहरूमा पुरानै फर्मुला प्रयोगमा ल्याइने भनेर छलफल चलेपनि अन्त्यमा सरकारले चोर बाटोबाट हुभर फर्मुला लागु गरेकाले स्वदेशी व्यवसायीहरू मारमा परेको उनले बताए । साथै ‘रक्तदान जीवनदान’ भन्ने भनाइलाई आत्मसाथ गर्दै स्वास्थ्यको हिसाबले पनि निकै लाभदायी भएको भन्दै रक्तदान गर्दा हुने फाइदाबारे उनले प्रष्ट पारेका थिए।
कार्यक्रममा बोल्दै सीतापाइला व्यापार व्यवसायी संघका अध्यक्ष माधव पोखरेलले बैङ्कहरूले कम्तीमा ६ % व्याजदरमा ऋण उपलब्ध गराए आफूहरूलाई व्यवसाय गर्न सहज हुने भन्दै यसबारे सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताएका छन् ।

काष्ठ व्यवसायी संघ काठमाडौं र सीतापाइला व्यापार व्यवसायी संघको संयुक्त आयोजनामा भएको पहिलो कार्यक्रममै उत्साहजनक सहभागिता देखिएको भन्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई नियमित गरिने उनले प्रतिवद्धता जनाएका छन्।
त्यसैगरी काष्ठ व्यवसायी संघ काठमाडौंका अध्यक्ष रोशन श्रेष्ठले सरकारले पछिल्लो समय लागु गरेको हुभर फर्मुलाले स्वदेशी काष्ठ व्यवसायीहरू निकै मारमा परेको जिकिर गरेका छन् ।
हाम्रा छिमेकी मुलुकसहित विश्वका ९० % भन्दा बढी देशमा लागु नभएको यस्तो फर्मुला आफ्नो देशमा कार्यान्वयनमा आउनु निकै अव्यवहारिक भएको भन्दै उनले यसबारे मन्त्रीको ध्यान आकृष्ट पारेका थिए ।

त्यस्तै डिभिजन बन कार्यालयका काठमाडौंका प्रमुख बद्रीकुमार कार्कीले काष्ठ व्यवसायीहरूको समस्यालाई आफुले माथिल्लो निकायसँग छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिरहेका बताएका छन् । कतिपय सुत्रका कुराहरू भने प्रदेश सरकारले समाधान गर्न नसक्ने भन्दै संघीय वन नियमावलीमा संशोधन गर्न केन्द्र सरकारसँग नै ताकेता गर्नुपर्नेमा उनको जोड थियो।
त्यस्तै अर्का व्यवसायी प्रकाश आचार्यले एकतामा बल हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै व्यवसायीहरू संगठित भएर लाग्दा समस्या समाधानमा बल पुग्ने हुनाले आफूहरू एकजुट भएर अगाडी बढ्न चाहेको बताएका छन् । साथै रगतको अभावमा कतिपयले अकालमै ज्यान गुमाउन परेकाले आफुहरूले रक्तदान कार्यक्रमलाई पनि सँगै आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा हालसम्म १७४ पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले पनि सहभागीता जनाएका थिए। आफ्नो सहभागिताले अरूलाई पनि रक्तदान गर्ने प्रेरणा मिलोस् भन्ने हेतुले पनि आफुले उपस्थिती जनाएका उनले बताएका छन्।
रक्तदानबारे कतिपय मानिसहरूमा भ्रम पैदा भएको भन्दै नियमित रक्तदानले स्वास्थ्यमा निकै फाईदा पुर्याउने समेत उनले बताएका छन्।
कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या नआउने बरू लाभदायी हुने भन्दै सबैसँग रक्तदान गर्नको लागि अपिल गरेका छन्
बागमती प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री बहादुरसिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नागार्जुन नगरपालिका वडा नं. ५ का वडाध्यक्ष महेश रिमाल, बन पैदावार उद्योग व्यवसाय महासंघका मानार्थ अध्यक्ष जगनारायण महर्जन, बन पैदावार उद्योग व्यवसायी महासंघ ललितपुरका अध्यक्ष राज बहादुर सिंह लगाएत अन्य व्यापारी तथा काष्ठ व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।