राष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौँ, २५ फागुन । राष्ट्रपति निर्वाचनको मतगणना संसद भवनका दुई स्थानमा सुरु भएको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिए लगत्तै दिउँसो पौने चार बजेदेखि मतगणना सुरु भएको हो ।

प्रदेश र संघको मतगणना बेग्लाबेग्लै दुई ठाउँमा सुरु भएको हो। ससद भवनको अन्नपूर्ण हलमा केही बेरअगाडि मतगणना सुरु भएको मतगणनास्थलमा रहेकी संवाददाता ईश्वरी बरालले जानकारी गराएकी छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको मतदानस्थल पुगेर संघीय र प्रदेश सांसदहरुले राष्ट्रपति निर्वाचनमा मतदान गरेका थिए । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

संघीय संसदका ३१३ र प्रदेशसभाका ५१८ सांसदले मत खसालेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ जना र प्रदेशसभाका ५५० जना सांसद मतदाता रहन्छन्।