बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मतगणना चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गरेको खुलासा भएको छ । बालेन ओलीकै निवास बालकोट पुगेर भेटेको खुलासा भएको हो । भेटमा के के कुरा भयो भन्ने विवरण भने अहिलेसम्म दुवै पक्षले गोप्य राखेका छन् ।

बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरेका छन् । काठमाडौंको मेयर बन्ने पक्का भएपछि शाह ओलीलाई भेट्न उनकै निवासमा पुगेका हुन् । बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो ।

बालेन साहले काठमाडौंको मेयरको सपथ लिएपछि वडाध्यक्षसहितको पहिलो बैठक डाके । बैठकमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु नरम रुपमा प्रस्तुत भए । बालेनलाई पूर्ण साथ दिने गरी प्रस्तुत भए । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु भने बालेनप्रति कडा भए ।

एमाले बालेनप्रति नरम हुनु र काँग्रेस कडा हुनुको रहस्य खुलेको छ । बालेनले निर्वाचित हुनु अघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगी भेटेको खुलेको छ । ओलीले बालेनलाई खुलेर बधाई दिएका थिए । उनको हात नै समातेर खुशी साटेका थिए ।

बालेनको जीतमा ओली पनि खुशी भएको बुझिएको छ । बालेनले पनि एमालेबाट साथ पाउने आशा गरेको देखिन्छ ।

बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । ओली बालेनको मनपर्ने नेता मानिन्छन् । चुनावअघि नै बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो ।

मेयरको सपथ लिएपछि सबैभन्दा पहिले बालेनले प्रधानसेनापतिलाई भेटेका थिए ।