देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न देशै भर प्रदर्शन गर्ने

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न देशै भर प्रदर्शन गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सीपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उहाँले यसबिचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गरे । अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरु जोडेका कारण मूल्यवृद्धि भएको उनले बताए ।

अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताए । उनले भने, ‘हिसाब गर्दा के देखिन्छ भने ९ अर्ब २० करोड रुपैयाँ त महिनैपिच्छे यिनीहरुले आयल निगमबाट नाफा खाँदा रहेछन् । त्यो बोझ ग्राहकहरुलाई दिन्छन् । त्यसो हुनाले यो अन्यायपूर्ण छ । त्यसकारण यो तुरुन्त खारेज हुनुपर्छ भन्ने हामी माग गर्न चाहान्छौँ ।’

उनले थपे, ‘हामी देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट जोडदार के माग गर्न चाहान्छौ भने जहाँ अहिले बढेको छ, त्यसैलाई फिक्स गरेर छोडिदिने होइन, पहिलेकै ठाउँमा हुनुपर्छ । फिर्ता हुनुपर्छ । जतिपनि यो बीचमा बढेको छ त्यो सबै फिर्ता भएर जनतालाई राहत दिनुपर्छ भन्ने हामी माग गर्न चाहान्छौँ ।’

उनले स्थानीय तह निर्वाचनमार्फत् जनताले वास्तविक लोकतन्त्रको अनुभूति गर्न नसकेको बताए । कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उनले प्रष्ट्याए ।
उनले भने, ‘लोकतन्त्रमा त पार्टीहरुका बीचमा प्रतिस्पर्धा हुन्छ । उनीहरुले चुनावी घोषणापत्र निकाल्छन् । त्यो घोषणापत्रको आधारमा मतदाताहरुले निर्णय गर्छन् । कुन पार्टी ठीक छ भन्ने । त्यसपछि त्यही अनुसार उनीहरुले भोट हाल्छन् । तर प्रतिस्पर्धा नै छै्रन यहाँ । अनि के लोकतन्त्र भयो यो ? आफ्नो पार्टीको मान्छेले आफ्नै चुनाव चिन्हमा भोट हाल्दाखेरी कारबाही गर्नुप¥यो ।’

अध्यक्ष गजुरेलले निर्वाचनमार्फत् जनताले विकल्प खोजेको बताए । जनताले पुराना पार्टी र नेताहरुलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका उनले बताए । जनताले पुराना पार्टी र तिनका नेतृत्वको विकल्प खोजेको उनले बताए । उनले भने, ‘मान्छेले आफ्नो असन्तुष्टि विभिन्न ढंगबाट व्यक्त गरेका छन् । र यो चुनावमा त्यो अभिव्यक्त भएको छ । किन एउटा अपरिचित मान्छेलाई मान्छेले उम्मेदवार बनाए भने यो पुराना ठूल्ठूला पार्टीहरु, त्यहाँका नेताहरु माथि जनताको विश्वास छैन अब त्यही कुरा बुझिन्छ ।’

उनले थपे, ‘त्यसैहुनाले त अर्को नयाँ मान्छे चाहियो । उनीहरु माथि विश्वास छैन । त्यसो भएर ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजय भइराखेका छन् । यसको अर्थ जनताले विकल्प खोजेको छ । यि नेतृत्वले हुँदैन । यो पार्टीले हुँदैन भन्नेकुरा जनताले अभिव्यक्ति दिएका छन् ।’