राज्यबाट एक पैसापनि नलिने टोखा नगरपालिकाका मेयर रजनी थापाको घोषणा

काठमाडौं वैशाख १८ । स्वास्थ्य, शिक्षा र युवाहरूलाई रोजगारी विशेष प्राथमिकतामा राखेर टोखा नगरपालिकाको मेयरमा उठेकी रजनी थापाले राज्यबाट सेवा सुविधाको नाममा एक पैसापनि नलिने घोषणा गरेकी छिन् । लिन होइन टोखा नगरपालिकालाई योगदान दिन मेयरमा उम्मेदवारी दिएकाे भन्दै उनले मेयरको हैसियतमा राज्यबाट पाउने कुनै किसिमको सेवा सुविधा नलिने घोषणा गरेकी हुन् ।

रजनी सचेतना नेपाल फाउण्डेसनकी अध्यक्ष समेत रहेकी थापाले टोखा नगरपालिका आफ्नो घरजस्तै भएकाले घरबाट लिनेभन्दा घरका लागि सेवा दिने धारणा राखिन । रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत सयौं वृद्ध-वृद्धाको आँखामा ज्योति फर्काइदिने थापाले टोखाको इतिहास, कला, संस्कृति, परम्परा सभ्यता, संस्कार र समृद्धिको ज्योति छर्ने योजना बुनेकी छिन् ।

हरित सहर टोखा नगर भन्ने मुख्य संकल्पसहित टोखा नगरपालिकाको मुहार फेर्न तम्सिएकी मेयरकी उम्मेदवार थापाले टोखालाई स्वच्छ र हराभरा नगरमा रुपान्तरण गर्ने सपना देखेकी छिन् ।

मेयरमा सम्भवत सबैभन्दा कान्छी उम्मेदवार रहेकी रजनी आफूले टोखावासीको मन जितिसकेको अब मत जित्न मात्र बाँकी रहेको सुनाउँछिन् । आफू कमाउन होइन कमाएर आएको सुनाउँदै उनले यो देश र टोखा नगरका लागि केही गरौं भन्ने हुटहुटी आफूमा रहेको बताउँछिन् ।

‘राजनीति भनेको जागिर होइन राजनीति नितान्त सेवा हो । टोखा नगरपालिका मेयर हुँदै गर्दा त्यहाँबाट पाउने कुनैपनि सेवा सुविधा म लिनेछैन । एक पैसापनि टोखा नगरपालिकाबाट लिन्न ।’, मेयरकी उम्मेदवार थापाले स्वास्थ्य लाइभसँग भनिन् ।

विकास भनेको बाटो घाटो मात्र होइन, सोचको विकास हो थापाले अघि थपिन्, ‘जहाँ तपाईंको सोचको विकास हुन्छ यी कुराहरू भनेको सबैलाई समावेश गरेर टेक्निकल पार्ट, एडभान्स टेक्नोलोजीहरू समावेशीका कुरालाई स्थानीय मान्छेहरुलाई संलग्न गराएर गर्ने कुरामा विकास त्यति गाह्रो छ भन्ने जस्तो मलाई लाग्दैन ।’,

विकासका कुराहरू आँखाले देख्न सक्ने, महसुस गर्न सक्ने र अनुभव गरेर जीवनलाई सजिलाे बनाउने पूर्वाधारहरू रहेको बताउँदै आफूले यस्तो योजनामा ध्यान दिएको उनको भनाइ छ ।

‘टोखा नगरपालिकाका भनेको मेरो घर हो जन्मभूमि हो सोच्नुहोस् की मान्छेलाई जन्मभूमिको कति धेरै माया हुन्छ ‘, रजनीले भावुक हुँदै भनिन् , ‘मलाइ कति बेला गर्व हुन्छ भने म राम्रो काम गर्छु तब मलाई कौशीबाट पनि बोलाउनु हुन्छ । मैलो कमाउने सम्पत्ति भनेको त्यो हो क्या ! त्यो सम्पत्ति कमाउन भएपनि मेरो उम्मेदवारी हो ।’,

आफू कर्म र परिवर्तनमा विश्वास गर्ने बताउँदै राइट भ्वाइस, राइट प्लेस र राइट टपिक्समा विश्वास गर्ने उनले सुनाइन् । यही भएको कारणले आफू उठ्छुभन्दा पनि टोखा नगरपालिकाको सम्पूर्ण व्यक्तिहरुले मन जिते काम गरे, राम्रो व्यवहार गरे त्यो आधारमा उठ्नुहोस भनेकाले उठेको बताउँदै आफूले जित्ने रजनीको विश्वास छ । टोखावसीको सेवाको आफ्नो जीवन समर्पित गर्ने उनको उद्‌घोष छ ।