बलबहादुर लिम्बू पुरानै पाटीलाई भोट दिने

नारायण कुमार राई
धनकुटा १४ बैसाख ।                                   हात्तिखर्क सिमलबाटे धनकुटाका बलबहादुर लिम्बूलाई फेरी पनि पहिला दिएको पाटीलाई नै भोट दिने मन छ । उमेरले ७२ बर्ष पुगेका लिम्बूलाई नयाँ आउनेले कामको ‘भेउ’ नपाउने भएकाले पनि पुरानै पाटीलाई भोट दिने बताउँछन् । गएको मंसिरमा आफ्नी जीवन संगिनीले संसार छाडेर आफू एक्लो भएपछि अब भत्ता दिने पाटी मात्र आफ्नो साहारा भएको उनको धारणा छ । त्यसैले भत्ता बढाउने कुरा गर्छन् की भनेर उनी लौरोको साहाराले आधा घण्टा हिंडेर बुधबार पन्चमी डाँडामा एमालेको चुनावी कार्यक्रममा आएका थिए । बुवा भोट कसलाई दिनुहुन्छ भन्ने प्रश्नमा लिम्बू भन्छन्–‘खै पुरानोलाई नै दिने भनेको ?’ पुरानो भनेको कुन नि बुवा?‘तेई घाम’–उनी औंलाले आकाशतिर देखाउँदै भन्छन् । हाल चार महिनामा १२ हजार भत्ता थाप्ने लिम्बूका हकमा चुनावी कार्यक्रममा कसैले सम्बोधन नगरेपनि गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हाल पुनः अध्यक्षका उमेद्वार शेरबहादुर लिम्बूलाई यो प्रश्न राखिदिंदा उक्त कार्यक्रम केन्द्रिय कार्यक्रम भएकाले ‘गठबन्धनले जस्तो पालिका जिते हामी थप्छौं’ भन्नु गलत भएको जानकारी दिनुभयो । तथापी उक्त कार्यक्रम एमाले नेता मोनमोहनको पालाबाट शुरु भएकाले आगामी एमालेको सरकार बनेपछि केन्द्रबाटै बृद्धाभत्ता बढाउने नीति रहेको उहाँले जानकारी दिनुभयो । बुधबारबाट नेकपा एमालेका उमेद्वार लिम्बू र उपाध्यक्षको उमेद्वार गोमा कार्कीले वडा नं.१ को खमारे साबिक ४,बेते साबिक २ र पन्चमी साबिक ६ र १ मा कार्यक्रम गरेर आफ्नो चुनावी अभियान शुरु गरेका छन् । लिम्बूले सुशासन सहितको दीगो बिकास र समृद्ध गाउँपालिका बनाउन आफूलाई फेरी भोट दिन अनुरोध गर्नुभयो । लिम्बूले संघीयताको पहिलो अभ्यासका कारण बिभिन्न नीति नियमहरु बनाउन परेकाले निर्वाचित भए लगतै आफूहरुले काम गर्न नपाएको जानकारी दिनुभयो । जसका कारण पालिकामा शुरु भएका र हुन लागेका कामहरु पुरा बाँकी रहेको जानकारी दिनुभयो । उक्त काम पुरा गर्न पुनः आफ्नो उमेद्वारी रहेको लिम्बूले स्पष्ट पार्नुभयो । त्रिसुलेबाट हाक्तिखर्क हुंदै जितपुरबाट लेगुवा जाने सडक कालोपत्रेको लागि डि.पि.आर.भईसकेकोले आफू बिजयी भएमा आगामी दिनमा वडा नं. १ को उक्त महत्वपूर्ण आयोजना पुरा गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको लिम्बूले बताउनुभयो । उपाध्यक्षको उमेद्वार गोमा कार्कीले महिलाहरुका हकहितका लागि आफ्ना उमेद्वारी रहेकोले बिजयी गराउन अनुरोध गर्नुभयो । आफू बिजयी भएमा संधै जनताको सेवक बनेर काम गर्ने उहाँको भनाई थियो । चुनावी सभालाई वडा नं. १ का वडा अध्यक्षको उमेद्वार मच्छिन्द्र लिम्बू, खुल्ला सदस्यका उमेद्वारहरु दिपक कार्की र रत्नबहादुर लिम्बूृ (लिलाराम),महिला सदस्य अनिता सुबेदी र दलित महिला सददस्य तुलसा देवी बिश्वकर्माले सात सूर्यमा सात छाप लगाई एमालेलाई बिजयी गराउन अनुरोध गर्नुभएको थियो । चुनावी कार्यक्रमलाई एमाले प्रदेश कमिटी सदस्य बलदिप राई,गाउँकमिटी अध्यक्ष ईन्द्रसारु मगर लगाएतले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।