पोखरा महानगरमा एमालेबाट मेयरका आकांक्षी १२ जना, मतदानबाट छनोट गर्ने |

पोखरा , २ वैशाख । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयर पदका लागि १२ जना आकांक्षी देखिएका छन् । सहमति जुट्न नसकेपछि उम्मेदर चयनकै लागि आज मतदान गरिने भएको छ ।

लामो छलफल र सहमतिबाट एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाउन नसकेपछि आज मतदान गर्न लागिएको हो । आज १२ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको छ ।

आकांक्षा धेरै भएपछि सबैभन्दा बढी समर्थक रहेका २ जना पुरुष र १ जना महिला छनोट गर्न मतदान गर्न लागिएको जनाइएको छ । मेयरको उम्मेदार बन्नका लागि १२ जनाले जनही ३ हजार शुल्क तिरेर नाम दर्ता गरेका थिए । यसरी नाम दर्ता गराउनेमा पोखराका पूर्वमेयर, प्रदेश सभा सदस्यदेखि वडा अध्यक्ष सम्म रहेका छन् ।

यस्तै उपमेयरको उम्मेदवारका लागि पनि आजै मतदान हुँदैछ । पोखराको उपमेयरका लागि पनि ११ जना आकांक्षी देखिएको छ ।