
काठमाडौँ, १० माघ | नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पिपिए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ ।
सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पिपिए प्रतिस्पर्धा गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताइन् । ‘जनतालाई सहुलियत दरमा विद्युत उपलब्ध गराउन, विद्युत खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बनाउँदै लैजानुपर्छ, सोलारमार्फत हामीले यसको सुरुवात गरेका छौँ,’ उनले भनिन् । पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत् उत्पादन लागत कम हुँदै गएको उल्लेख गर्दै भुसालले भनिन्, ‘यसअघिको निर्णयअनुसार पनि तीन वर्षमा सोलारको पिपिए दर पुनरावलोकन गर्नुपर्ने थियो ।’
विद्युत महसुललाई सर्वसुलभ बनाउन, अन्तरराष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पिपिए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको हो । अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युतको पिपिए गर्दा विद्युत आयोजनाहरूको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पिपिएका लागि आह्वान गरिने छ ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २५ माघ २०७४ माघमा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि,२०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत खरिद दर प्रतियुनिट ७ रुपैयाँ ३० तोकिएको थियो । उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो ।
मन्त्रालयको सो निर्णयलाई प्राधिकरणको सञ्चालक समितिले २६ असार २०७५ को ७७३औँ बैठकबाट निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो ।
तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन । हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युतको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग एक सय १० मेगावाटको पिपिए गरेको छ । यसमध्ये ६ आयोजना निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ |
देउवाको भाग्यमा १९ वर्षअघिको ज्योतिषीय योग ?-तीनवटा दशैं एकै वर्ष परेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भाग्यरेखा राजयोगमा पर्ने गरेको ज्योतिषीय विश्लेषण छ । आजभन्दा १९ वर्षअघि पनि यस्तै योग निर्माण भएकाले अक्षम भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए । तर, त्यसपछि केन्द्रीय राजनीतिमा शक्तिशाली अवस्थामा फर्केका देउवा फेरि पनि १९ वर्षअघिकै योग दोहोरिने चर्चा सुरु भएको छ ।
यस्तो शक्तिशाली राजयोगको संयोग परेको अवस्थामा कसैले कमजोरीको फाइदा उठाउन खोजेमा त्यस्ता वर्गको अस्तित्वमै संकट आउन सक्ने ज्योतिषी सुरेशचन्द्र रिजाल बताउँछन् ।
यो वर्ष तीनवटा दशैं परेको छ । २०७७ सालको चैते दशैं पनि २०७८ सालमा मनाइयो भने मूल दशैं र चैते दशैं पनि यही वर्ष नै पर्ने भएकाले यो वर्ष तीनवटा दशैं पर्छ । तीनवटा दशैं एकै वर्ष भएको बेलामा देउवाको भाग्यरेखा राजयोगमा पर्ने ज्योतिषी रिजालको दाबी छ ।
१९ वर्षअघि पनि एकै वर्ष तीनवटा दशैं भएको र पछि अपदस्थ हुनुपरे पनि देउवा चर्चा र शक्तिमै रहेको उनले बताए । ‘१९ वर्षपछि अहिले पनि पहिलेकै योग देखिएकाले देउवा चर्चित र शक्तिशाली नै बनिरहने योग छ,’ रिजालले न्युज कारखानासँग भने ।