कमलामाई नगरपालिकाले दिन लागेको निशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटन

लक्ष्मी श्रेष्ठ |काठमाडौं, १६ पुस | सिन्धुलीको कमलामाई नगरपालिकामा आज लोकसेवा तयारी कक्षाको उद्घाटन गरिएको छ । कमलामाई नगरपालिकाको आयोजनामा नगरको बार्षिक निती तथा कार्यक्रम अनुसार संचालन गर्न लागेको लोकसेवा तयारी कक्षाको आज उद्घाटन गरिएको हो ।

कमलामाई नगरपालिकाले नगरमा रहेका बेरोजगार तथा लोकसेवा पास गर्न चाहने ईच्छुकलाई लक्षित गर्दै निशुल्क लोकसेवा तयारी कक्षा संचालन गरेको हो । एक महिना सम्म नायव सुव्वा ÷ सहायक स्तर पाँचौ, प्रहरी सहायक निरिक्षक र सहायक सेनानीको लागी लोकसेवा तयारी कक्षा निशुल्क संचालन हुने कमलामाई नगर प्रमुख खड्ग खत्रीले जानकारी दिनु भएको छ ।

तयारी कक्षाको उद्घाटनको क्रममा कमलामाई नगर प्रमुख खड्ग खत्रीले लोकसेवा तयारीको लागि आएका सबैलाई ध्यान दिएर अध्यन गर्न र लोकसेवा पास गर्न सबैमा शुभकामना ब्यक्त गर्नु भएको छ । अहिलेको यस संचार, प्रविधि तथा प्रतिस्पर्धाको युग भएको कारण यस युगलाई चिनेर अगाडी बढ्दै नगरले दिएको यस अवसरलाई गम्भीरतापुर्वक ध्यान दिएर उपयोग गर्न सम्पुर्णलाई अनुरोध समेत गर्नु भएको छ ।

नगरले दिएको निशुल्क लोकसेवा तयारी कक्षाको लागि नायव सुव्वा ÷ सहायक स्तर पाँचौको लागी ४५ जना, प्रहरी सहायक निरिक्षकको लागी १० जना र सहायक सेनानीको लागि ३ जनाले आवेदन दिएको सामाजिक बिकास शाखाका नासु बबिन्द्रलाल माझीले जानकारी दिनु भएको छ ।