
धनगढी, २८ कात्तिक
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबारदेखि कैलालीमा भएको वडा अधिवेसनले जिल्लाका एक सय २५ वडामा नेतृत्व चयन गरेको छ ।
जिल्लाका कुल एक सय २६ वडा मध्ये एक सय २३ वडामा नेतृत्व चयन भएको र दुई वडामा मत गणना जारी छ । एक वडामा बीचैमा मतदान रोकिएको कांग्रेस कैलालीका महाधिवेशन प्रचारप्रचार समिति संयोजक नृप सुनारले बताए ।
उनका अनुसार कैलालीको गोदावरी नगरपालिका–६ मा मतदान प्रक्रिया सुरू भए पनि बीचैमा स्थगित भएको छ । वडाका १६ जनाको नाम बीचैमा कटौति भएपछि मतदान नै रोकिएको उनले बताए । सुरूमा १६ जनाकै नाम क्रियाशील सदस्यको सूचीमा राखिएको तर मतदान गर्दा उनिहरूको नाम नभेटिएपछि विवादका कारण मतदान रोकिएको संयोजक सुनारले बताए ।
सो वडामा वडामा के गर्ने भन्ने विषयमा जिल्ला निर्वाचन समितिले छलफल गरिरहेको उनले बताए । वडा अधिवेशन गर्ने सम्पूर्ण जिम्मा निर्वाचन समितिलाई दिएको भन्दै उनले सो समितिले गरेको निर्णयअनुसारअघि बढ्ने बताए ।