धनकुटा । धनकुटा नगरपालिका २ स्थितको मधुगंगा धार्मिक स्थल निर्माण तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि आज मन्दिरको शिलान्यास गरिएको छ । प्रतिनीधिसभा सदस्य राजेन्द्र कुमार राईले मन्दिरको शिलान्यास गर्नुभएको हो ।
मन्दिर शिलान्यासको अवसरमा बोल्दै धनकुटा जिल्लाका विकासका लागि छुटिएको अरबौ रकम वर्तमान सरकारले कटौती गरेको भन्दै खेद प्रकट गर्नुभयो । यो विषयमा सदनमा दह्रो ढंगले कुरा उठाउने वताउनुभयो । चुनावी घोषणा पत्रमा समेटिएका नारा अनुसार नै जनप्रतिनीधिहरुले काम गरिरहेको पनि उहाँले वताउनुभयो । अहिले धनकुटा एमालेमय बन्दै गएको वताउनुभयो । उहाँले कांग्रेस सहमहामन्त्री सुनिल थापाले वेलाहारामा एयरपोर्ट वनाउने भनेर जनतामा भ्रम छरेको उल्लेख गर्नुभयो ।
यसअघि त्यहाँका वडाध्यक्ष र जनताले सँग वसेर कुरा गर्दा जनताले नै आफुहरुलाई एयपोर्टको आवश्यक्ता नभएको भनेपछि काम रोकिएको वताउनुभयो । कार्यक्रममा प्रदेश १ सभासदस्य तथा न्याय प्रशासन एवम् विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले सत्तामा रहदा र वाहिर रहदा पनि जनताको काम गर्ने पार्टी एमाले नै रहेको वताउनुभयो । उहाँले देश समृद्धी तर्फ अघि बढिरहेको भन्दै सबै जनतालाई सेवा सुविधा र रोजगारीको ग्यारेटिन्टी ओली सरकारले नै गरेको वताउदै अहिलेको सरकारबाट जनताको पक्षमा केही काम नहुने भएकोले एमालेमै आवद्ध हुन सम्पूर्णलाई आग्रह गर्नुभयो ।
त्यस्तै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले नगरका जनताले महसुष गर्नेगरि न्यायोचित ढंगले विकास तथा सेवा सुविधा उपलव्ध गराईरहेको दावी गर्नुभयो । उहाँले धनकुटा नगरपालिका क्षेत्रमा भएका विकास निर्माणको गतिविधिको वारेमा जानकारी गराउदै रत्न षडेश्वर मधुगंगा सडक ५० करोड लागतमा चाडै पिच हुने वताउनुभयो । धनकुटा नगरपालिकाले मधुगंगा मन्दिर निर्माणका लागि पनि यसअघि नै १५ लाखको डिपिआर गरेको उल्लेख गर्नुभयो । त्यस्तै वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङले स्वागत मन्तव्य राख्दै तीनै तहको सरकारको सहयोगमा ७ करोड लागतमा मधुगंगा मन्दिर निर्माण गर्न लागिएका स्पष्ट पार्नुभयो ।
उहाँले मन्दिरमा शिव मन्दिर, ९ वटा ढुंगेधारा,व्यापारिक भवन,सडक,शौचालय,सिंढी निर्माण गर्ने वताउनुभयो । कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेत,प्रशासकीय प्रमुख रामबहादुर थापा,योजना शाखा प्रमुख सिताराम गौतम सहित जनप्रतिनीधि,शिक्षक,राजनीतक दलका प्रतिनीधि लगायतको उपस्थिती थियो ।