खुशी

तल झुपडिमा बस्ने
ती बुढी आमा
कुखुराले एक दानो अण्डा पार्दा
जति खुशी हुनुहुन्छ
हामीले त्यहाँबाट खुशी हुन सिकौँ
ताकी खुशी हुन ठुला महल नचाहियोस्
कुनै हिराको मुल्यमा भेटिएको आनन्द
गुन्द्रुक को स्वाद मा पनि छ ; खान जानियोस ।

मेरो देशको धरहराबाट
आखाँमा टेलिस्कोप लगाएर
ताजमहल र ग्रेट वाल अफ चाइना
हेरिरहेकाहरु पनि खुशी होउन्
अनि त्यो दुरदराजको बाटोमा
ट्रयाक्टर कुद्दा उड्ने धुलो छेक्न
चस्मा लगाएका आखाँहरु पनि खुशी होउन् ।

हामीले पढ्ने दैनिक पत्रिकाको
पहिलो पृष्ठमा छापिने ठुलो तस्बिर
यस्तो होस् कि
त्यसले सबैलाई सुरक्षाको प्रत्याभूति देवस
तस्बिर यस्तो नहोस् कि
त्यो खबर नानीहरुले पढिरहँदा
बलात्कारको चीतकारले
उनीहरु दुखी हुनु नपरोस
उनीहरुले काल्लिदै आतिन नपरोस ।

त्यो विकट बस्तिको गाँउमा
दिनरात श्रम गर्ने र दुइछाक टार्ने
त्यो सर्वहाराको खुशी
एउटा घडेरी जोड्न नसकेर स्खलित नहोस्
उसलाई के थाहा होस् भने
यो सारा देश उसैको हो ।।

ध्रुव पौडेल
पाख्रिबास -४ धनकुटा